रौतहट । राहदानी बनाउन र बनेको राहदानी लिन पटक पटक जिल्ला प्रशासन कार्यालय धाउनुपर्ने रौतहट बासीको वर्षौँदेखिको सास्ती अब अन्त्य भएको छ । जिल्ला प्रशासन कार्यालय रौतहटले सेवाग्राहीको समय र खर्च जोगाउने उद्देश्यले आजदेखि ’होम डेलिभरी’ सरहको नयाँ विकल्प खुला गरेको हो ।
नयाँ नियमअनुसार राहदानीका लागि आवेदन दिने सेवाग्राहीले अब दुई वटा विकल्प पाउनेछन् । राहदानी बनेर आएपछि आफैँ जिल्ला प्रशासन कार्यालय गएर बुझ्ने वा राहदानी सिधै आफ्नै घरको ठेगानामा हुलाकमार्फत प्राप्त गर्ने व्यवस्था भन्ने विकल्प रहने रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाल बताए ।
उनका अनुसार यदि कुनै सेवाग्राहीले आफ्नो राहदानी घरमै बसि–बसि प्राप्त गर्न चाहन्छन् भने उनले आवेदन दिने समयमै सामान्य प्रक्रिया पुरा गर्नुपर्नेछ । यसका लागि सेवाग्राहीले ५५ रुपैयाँ बराबरको हुलाक टिकट खरिद गरी आवश्यक कागजातहरूसँगै बुझाउनुपर्ने व्यवस्था गरिएको छ ।
यसरी आवेदन दिएका सेवाग्राहीको राहदानी विभागबाट प्रिन्ट भएर जिल्लामा आउनेबित्तिकै जिल्ला हुलाक कार्यालयमार्फत सम्बन्धित व्यक्तिको स्थायी ठेगानामा पठाइनेछ । यस कदमले विशेष गरी ग्रामीण भेगका बासिन्दाहरूलाई ठूलो राहत पुग्ने विश्वास गरिएको प्रमुख जिल्ला अधिकारी भुसालले जानकारी दिए ।
पासपोर्ट लिनकै लागि सदरमुकाम गौर आउनुपर्ने समय जोगिनेछ । चन्द्रपुरका युवा अभिशेक कोइरालाका अनुसार यो व्यवस्था लागु भएपछि यातायात र होटलमा हुने अनावश्यक खर्च कटौती हुन्छ । प्रशासन कार्यालयमा पासपोर्ट लिन आउनेहरूको लामो लाइन कम हुने उनको भनाइ छ ।
आधुनिक समयमा ओझेलमा पर्दै गएको हुलाक सेवाको भूमिका र प्रभावकारिता फेरि बढ्ने उनले बताए । प्रशासनले यो सेवालाई पारदर्शी र छिटो बनाउन हुलाक कार्यालयसँग समन्वय गरिसकेको छ । राहदानी हराउने वा ढिला हुने जोखिमलाई न्यून गर्न विशेष निगरानी राखिने समेत जनाइएको छ ।
विगतमा राहदानी आयो कि आएन भनेर बुझ्न समेत टाढा–टाढाबाट प्रशासन धाउनुपर्ने बाध्यता रहेका रौतहटबासीका लागि यो निर्णय एक महत्वपूर्ण प्रशासनिक सुधारको रूपमा हेरिएको छ ।




