काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको छ । ३ अर्ब ६२ करोडभन्दा बढी बिगो दाबीसहित विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको हो ।
पोखरा क्षेत्रीय विमानस्थल निर्माणमा अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार कार्कीसहित १४ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
ठेकेदार कम्पनीलाई कर छुट दिएर राज्यलाई नोक्सानी गराएको आरोपमा कार्की लगायत तत्कालीन नेपाल सरकारका सचिवसहितलाई भ्रष्टाचार मुद्दा दायर गरेको हो । शेरबहादुर देउवा नेतृत्वको सरकारमा २०७४ सालको जेठ २४ गते कार्की अर्थमन्त्री नियुक्त भएका थिए ।
आयोगका अनुसार नेपाल नागरिक उड्डयन प्राधिकरण र चिनियाँ ठेकेदार कम्पनी चाइना सीएएमसी इन्जिनियरिङ कम्पनी लिमिटेड बीच भएको मूल सम्झौतामा कर तथा महसुल ठेकेदारलेनै तिर्नुपर्ने व्यवस्था हुँदा हुँदै पनि कार्यान्वयन सम्झौता मार्फत कर छुट दिने व्यवस्था गरिएको पाइएको हो ।
आयोगले अनुसन्धानबाट ठेकेदार कम्पनी र सरकारी अधिकारीबीचको मिलेमतोमा राज्यलाई तिर्नुपर्ने कर तथा शुल्क छुट दिई दोहोरो लाभ लिने काम भएको निष्कर्ष निकालेको जनाएको छ । सोही कारण सार्वजनिक ऋणबाट प्राप्त रकम दुरुपयोग भएको दाबी गरिएको छ ।
कार्कीसहित अर्थ मन्त्रालयका तत्कालीन सहसचिव केवल प्रसाद भण्डारी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन सहसचिव सुरेश आचार्य र तत्कालीन सहसचिव डण्डुराज घिमिरे तथा नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक संजीव गौतम रहेका छन् ।
यस्तै नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तर्गत राष्ट्रिय गौरब आयोजनाका तत्कालीन आयोजना निर्देशक प्रदीप अधिकारी र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन इलेक्ट्रोनिक्स इन्जिनियर योगेश अर्याल, अर्थ मन्त्रालयका तत्कालीन उपसचिव युगराज पाण्डे र तत्कालीन शाखा अधिकृत उर्मिला भण्डारी लगायत छन् ।
साथै ठेकेदार कम्पनी र त्यसका प्रतिनिधिहरूलाई पनि मतियारका रूपमा मुद्दा दायर गरिएको छ । आयोगले सबै प्रतिवादीमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कैद, जरिवाना, बिगो असुल तथा थप सजायको माग गरेको छ । यो मुद्दा अब विशेष अदालत काठमाडौंमा सुनुवाइ हुनेछ ।






