रामेछाप । सिन्धुलीको दुधौली नगरपालिकामा बिहीबार बिहान जन्ती बोकेको बुलेरो दुर्घटनामा पर्दा पाँच जना घाइते भएका छन् । प्रहरीका अनुसार बेहुलासहित जन्ती लिएर उदयपुरतर्फ जाँदै गरेको मधेस प्रदेश ०३–००१ च ८२०२ नम्बरको डबल क्याप बुलेरो घुम्ती सडकमा अनियन्त्रित भई दुर्घटनामा परेको हो ।
दुर्घटना दुधौली नगरपालिका १ राँगेस्थित सडक खण्डमा भएको प्रहरीले जनाएको छ । फिक्कल गाउँपालिका १ महादेवडाँडा जलजलेबाट उदयपुरको घाइघाट–रातमाटेतर्फ बेहुला लिएर जाँदै गरेको गाडी अचानक नियन्त्रण गुमाउँदा दुर्घटना भएको हो ।
गाडीमा बेहुला हेमबहादुर विकसहित १० जना सवार रहेका थिए । दुर्घटनामा बेहुला भने सकुशल रहेको बताइएको छ । दुर्घटनामा घाइते भएका योगबहादुर खत्रीको अवस्था गम्भीर रहेको बताइएको छ । प्रारम्भिक उपचारपछि उनीलाई थप उपचारका लागि सिन्धुली अस्पताल पठाइएको छ ।
यस्तै अन्य घाइते लालबहादुर विक, साने विक, श्याम विक लगायत चार जनाको स्थानीय सिर्थौली अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाका घाइतेलाई स्थानीयवासी र सुरक्षाकर्मीले उद्धार गरी अस्पताल पुर्याएका थिए ।
प्रहरीले दुर्घटनाको कारणबारे अनुसन्धान सुरु गरेको जनाएको छ । प्रारम्भिक अनुमानमा तीव्र गति मोडका कारण सवारी अनियन्त्रित भएको हुन सक्ने बताइएको छ ।






