रामेछाप । खाँडादेवी गाउँपालिकामा चार वर्ष अघि नै सञ्चालनमा आउनुपर्ने पाँच शैय्याको पालिकास्तरको अस्पतालको निर्माण कार्य अझै अलपत्र परेको छ । खाँडादेवी गाउँपालिका ५ को गोगनपानीमा निर्माणाधीन गाउँपालिकाको अस्पतालको भवनको निर्माण पाँच वर्षदेखि अलपत्र परेको छ ।
अस्पताल भवन निर्माण सम्पन्न गरी पाँच शैय्याको अस्पताल सञ्चालनमा ल्याउने भनिएको भएपनि निर्माण व्यवसायीको लापरबाहीको कारण अस्पताल भवन अलपत्र अवस्थामा रहेको छ । भवनको सबै काम पूरा गरी १५ शैय्याको अस्पताल सञ्चालन गर्न योजना राखिएकोमा भवन निर्माण कार्य पहिलो तल्लामा अड्किएको छ ।
पहिलो तल्लाको भवमा समेत पाँच वर्षसम्म फिनिसिङको काम सकिएको छैन । अस्पताल भवन निर्माणको लागि गाउँपालिकाले बारम्बार रकम छुट्याएको भएपनि काम सम्पन्न नहुँदा स्थानीयको सुविधा सम्पन्न भवनबाट सेवा लिने चाहन पुरा हुन सकेको छैन ।
अस्पतालको भवन निर्माण सम्पन्न नभएको कारण अहिले सो अस्पतालले दिने सेवा पकरबास स्वास्थ्य चौकीबाट प्रवाह हुँदै आएको छ । सो स्वास्थ्य चौकीबाट चिकित्सकसहितका स्वास्थ्यकर्मीले सेवा प्रवाह गरिरहेका छन् । खाँडादेवी गाउँपालिकामा १३ वटा स्वास्थ्य इकाई छन् ।
ती स्वास्थ्य इकाइले ९ वटा वडाका नागरिकलाई सेवा दिँदै आएको छ । गाउँपालिकाले नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्न सुविधा सम्पन्न अस्पताल बनाउन लागेको भएपनि अस्पताल कहिलेबाट सञ्चालन हुने हो कुनै ठेगान छैन ।






