काठमाडौं । गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्जका तत्कालीन वरिष्ठ निरीक्षक (हाल अवकाश प्राप्त) शशि भुषण कुमार यादव लगायतविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा दायर मुद्दामा विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।
आयोगका अनुसार यादवले पदमा रहँदा गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको ठहर गर्दै रु. ४ करोड ४७ लाख ३४ हजार २१२ रुपैयाँ २६ पैसा बराबरको बिगो कायम गरिएको थियो । उनीविरुद्ध साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २०(१) अनुसार भ्रष्टाचार मुद्दा दायर गरिएको थियो ।
अख्तियारले गैरकानुनी आर्जन गरेको सम्पत्तिबाट बढेबढाई भएको सम्पत्ति जफत गर्न तथा सोही बराबर जरिवाना र कैद सजायको माग गर्दै विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको जनाएको छ ।
अनुसन्धानका क्रममा यादवले गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति आफ्नी पत्नी रीता रानी तथा अविनाश यादव र विकाश यादवका नाममा समेत राखेको पाइएको अख्तियारको दाबी छ । त्यसैले उनीहरूलाई समेत प्रतिवादी बनाउँदै स्रोत नखुलेको सम्पत्ति र त्यसबाट बढे बढाई भएको सम्पत्ति जफत/असुल गर्न माग गरिएको आयोगले जनाएको छ ।
विशेष अदालतले २०८१ असार २३ गतेको फैसलाबाट आंशिक सफाइ दिएको थियो । उक्त फैसला प्रति असन्तुष्टि जनाउँदै अख्तियारले २०८३ वैशाख २५ गते सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरेको हो । यो जानकारी अख्तियारका प्रवक्ता सुरेश न्यौपानेद्वारा जारी विज्ञप्तिमार्फत सार्वजनिक गरिएको हो ।






