सप्तरी । सप्तरी प्रहरीले विभिन्न मुद्दामा अदालतबाट सजाय तोकिएपछि फरार रहेका नौ जना प्रतिवादीलाई पक्राउ गरी अदालतमा बुझाएको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरी टोलीले फैसला कार्यान्वयन अभियान अन्तर्गत विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका प्रतिवादीहरूको खोज तलास तथा पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा डाक्नेश्वरी नगरपालिका ३ निवासी सबदलाल मुखिया, शम्भु कुमार मुखिया र सन्तोषी देवी मुखिया रहेका छन् । उनीहरूलाई कुटपिट मुद्दामा जनही पाँच सय रुपैयाँ जरिवाना तथा पाँच सय रुपैयाँ क्षतिपूर्ति तोकिएको थियो ।
त्यसैगरी साविक कबिलासा गाविस ९ हाल डाक्नेश्वरी नगरपालिका १ निवासी भुपेन्द्र साह र विनोद साहलाई लुटपाट तथा कुटपिट मुद्दामा जनही एक सय १० रुपैयाँ जरिवाना तोकिएको प्रहरीले जनाएको छ ।
यस्तै शम्भुनाथ नगरपालिका १२ निवासी दिनेशप्रसाद साहलाई मोबाइल चोरी मुद्दामा दुई सय रुपैयाँ जरिवाना सजाय सुनाइएको थियो । राजविराज नगरपालिका १ निवासी महेशप्रसाद यादवलाई लागुऔषध मुद्दामा दुई दिन कैद सजाय तोकिएको छ ।
यसैगरी राजविराज नगरपालिका १ का सनोज यादवलाई आपराधिक उपद्रव मुद्दामा दुई हजार रुपैयाँ जरिवाना तथा एक महिना कैद सजाय तोकिएको थियो ।
राजविराज नगरपालिका ११ निवासी अमितकुमार यादवलाई पनि सोही मुद्दामा दुई हजार रुपैयाँ जरिवाना र एक महिना कैद सजाय सुनाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीले जानकारी दिए ।
पक्राउ परेका सबै प्रतिवादीलाई आवश्यक कारबाहीका लागि सम्बन्धित अदालतमा बुझाइएको प्रहरीले जनाएको छ ।




