सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका १७ रानिगन्जमा करिब एक करोडभन्दा बढी लागतमा निर्माण गरिएको तरकारी बजार तथा त्यसका संरचना प्रयोगविहीन अवस्थामा पुगेका छन् । सञ्चालनमा आउन नसक्दा बजार क्षेत्र अहिले पशु चरनस्थल (गौचरण) जस्तै बनेको छ ।
गत वर्ष वडा कार्यालय, नगरपालिका, मधेश प्रदेश सरकार तथा सङ्घीय सरकारको संयुक्त लगानीमा करिब एक करोड नौ लाख रुपैयाँ खर्च गरेर महेन्द्र राजमार्ग छेउमा उक्त बजार निर्माण गरिएको थियो । देवता महाकाली गुठीले उपलब्ध गराएको चार बिघा जग्गामा १२ वटा सटर र ३६ वटा स्टलसहितको कृषि सेड निर्माण गरिएको थियो ।
तर, ठूलो लगानीमा निर्माण गरिएका संरचना हालसम्म सञ्चालनमा आउन नसक्दा प्रयोगविहीन बन्दै गएका छन् । संरक्षण र प्रयोग अभावमा संरचनाहरू जीर्ण हुन थालेका छन् भने बजार क्षेत्र अहिले पशु चरनका रूपमा परिणत भएको स्थानीयवासी बताउँछन् ।
यसअघि लालबन्दी नगरपालिका ७ स्थित डुमडुमे मन्दिर अगाडि साँघुरो स्थानमा सञ्चालन हुँदै आएको लालबन्दी थोक तरकारी बजारको विकल्पका रूपमा रानिगन्जमा नयाँ बजार निर्माण गरिएको थियो । पुरानो बजार हाल १८ कठ्ठा क्षेत्रफलमा सञ्चालन हुँदै आएको छ ।




