सप्तरी । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ५ वनरझुलाकी एक महिला चार दिनदेखि बेपत्ता भएपछि घटना रहस्यमय बनेको छ । स्थानीय अनिता देवी राय बुधबार रातिदेखि सम्पर्कविहीन भएपछि परिवार र स्थानीयवासीले हत्या तथा अपहरणको आशंका गरेका छन् ।
बेपत्ता महिलाका श्रीमान् वीरेन्द्र राय वैदेशिक रोजगारीका सिलसिलामा विदेशमा रहेका कारण अनिता घरमा एक्लै बस्दै आएकी थिइन् । घटनाको दिन छिमेकी शेखर रायका छोराको विवाहका कारण अधिकांश स्थानीय सुनसरीको अमरवा जन्ती गएका थिए । यही मौका छोपेर केही व्यक्तिले महिलालाई जबरजस्ती उठाएर लगेको हुन सक्ने परिवारको आशंका छ ।
महिलाका बाबु प्रितम रायका अनुसार अनिताका दुई छोरी छन् । जेठी छोरी सपनाको विवाह भइसकेको छ भने कान्छी १३ वर्षीया काजल विवाह कार्यक्रममा गएकी थिइन् । घरमा अनिता एक्लै रहेको अवस्थामा पाँच–छ जनाको समूहले अपहरण गरेको हुन सक्ने उनको भनाइ छ ।
स्थानीय कविता रायका अनुसार घटनाको रात घरभित्र बलिरहेको चिम समेत निभाइएको अवस्थामा भेटिएको थियो । अनिताका ससुराको निधन भइसकेको छ भने सासू छोरीसँग नारायणघाटमा बस्दै आएको बताइएको छ ।
घर आँगनमा रगत देखिएको भन्दै परिवार तथा स्थानीयवासीले महिलाको हत्या गरिएको हुन सक्ने आशंका व्यक्त गरेका छन् । स्थानीयका अनुसार महिलाको घरमा यसअघि पनि पटक–पटक खसी, बोका, चामल र गहुँ चोरी हुने घटना हुँदै आएका थिए ।
घटना भएको जानकारी पाएलगत्तै परिवार र स्थानीयले खोज तलास सुरु गरेपनि महिलाको अवस्था अझै अज्ञात रहेको छ । त्यसपछि प्रहरीलाई खबर गरिएको स्थानीयले बताएका छन् । जिल्ला प्रहरी कार्यालय राजविराज तथा इलाका प्रहरी कार्यालयको टोली घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको छ ।
सप्तरी प्रहरीका प्रवक्ता डम्बरबहादुर पुरीले घटनाबारे जानकारी पाएलगत्तै खोज तलास सुरु गरिएको जानकारी दिए । उनका अनुसार महिलाको मोबाइल घरमै भेटिएकाले घटना बारे थप अनुसन्धान भइरहेको छ ।






