सप्तरी । सप्तरी प्रहरीले विभिन्न मुद्दामा संलग्न १४ जना प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ परेकामध्ये पाँच जनामाथि थप अनुसन्धान भइरहेको छ भने अदालतबाट सजाय तथा जरिवाना तोकिएर फरार रहेका नौ जनालाई अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डम्बरबहादुर पुरीका अनुसार अभद्र व्यवहार मुद्दामा तीन, मुद्रासम्बन्धी कसुरमा दुई तथा अदालतबाट सजाय पाएर फरार रहेका नौ जना पक्राउ परेका हुन् ।
प्रहरीका अनुसार आइतबार राति राजविराज नगरपालिका ९ क्षेत्रमा गस्तीमा रहेको प्रहरी टोलीसँग अभद्र व्यवहार गरेको आरोपमा हनुमाननगर कङ्कालिनी नगरपालिका १ निवासी २१ वर्षीय आदित्य पाण्डेलाई पक्राउ गरिएको हो ।
घाइते अवस्थामा भेटिएका उनलाई सोधपुछ गर्ने क्रममा प्रहरीमाथि अश्लील शब्द प्रयोग गर्दै गालीगलौज गरेपछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । उनीमाथि जिल्ला प्रशासन कार्यालय सप्तरीबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ ।
त्यसैगरी राजविराज नगरपालिका ६ स्थित नेता चोक क्षेत्रमा होहल्ला गरिरहेको अवस्थामा भेटिएका विष्णुपुर गाउँपालिका ६ निवासी १२ वर्षीय संजिव साह र सुनसरीको बरजू गाउँपालिका ५ निवासी २६ वर्षीय शिवनारायण पण्डितलाई पनि अभद्र व्यवहार मुद्दामा पक्राउ गरिएको छ ।
प्रहरीले सम्झाइबुझाइ गर्ने क्रममा उनीहरूले प्रहरीमाथि हातपात गर्न खोजेपछि नियन्त्रणमा लिइएको जनाएको छ । दुवै जनामाथि पनि पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ । यस्तै मुद्रा सम्बन्धी कसुरमा हनुमाननगर कङ्कालिनी नगरपालिका ११ सखुवा टोल निवासी २२ वर्षीय विवेककुमार पण्डित र सोही स्थानका २२ वर्षीय सचिनकुमार यादव पक्राउ परेका छन् ।
नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले हनुमाननगर कङ्कालिनी नगरपालिका १४ मल्हनिया क्षेत्रमा चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेको मधेश प्रदेश ०६–००१ प ०९९५ नम्बरको रोयल इनफिल्ड मोटरसाइकलमा सवार उनीहरूको साथबाट एक हजार दरका सात थान नेपाली जाली नोट बरामद गरेको थियो ।
पक्राउ परेका दुवैमाथि जिल्ला अदालत सप्तरीबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।




