वीरगंज । पर्साको वीरगंज महानगरपालिका १६ बाट प्रहरीले विभिन्न प्रकारका लागूऔषधसहित पाँच जनालाई पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगंजबाट खटिएको प्रहरी टोलीले शनिबार दिउँसो नियन्त्रित लागूऔषध नाइट्राभेट ४२ ट्याब्लेट, स्पास्मो ११ ट्याब्लेट तथा नगद ४९ हजार रुपैयाँसहित तीन जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा वीरगंज महानगरपालिका २ छप्कैया निवासी ३५ वर्षीय ओसिम ठकुराई, मकवानपुरको हेटौँडा उपमहानगरपालिका १० निवासी ३७ वर्षीय राजु बानियाँ तथा बाराको कलैया उपमहानगरपालिका ६ निवासी ५२ वर्षीय अलिहदन मियाँ रहेका छन् ।
यसैबीच, सोही स्थानबाट प्रहरीले अवैध लागूऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थ करिब ३ ग्राम ३७ मिलिग्रामसहित थप दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मकवानपुर हेटौँडा उपमहानगरपालिका ७ कमाने टोल निवासी २९ वर्षीय अन्जन थापा र १९ वर्षीय रमेश बमजन रहेका छन् ।
प्रहरीका अनुसार रक्सौलबाट वीरगंजतर्फ आउँदै गरेको बा ८६ प २१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई जाँच गर्ने क्रममा उक्त पदार्थ फेला परेको थियो । पक्राउ परेका सबैमाथि लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






