महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिका १ बाट प्रहरीले नियन्त्रित लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बर्दिबासबाट खटिएको प्रहरी टोलीले शनिबार दिउँसो चेकजाँचका क्रममा स्पास्मो ९६ ट्याब्लेट र नाइट्राजेपाम १ सय ४३ ट्याब्लेटसहित एक जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा धनुषाको मिथिला नगरपालिका ३ लालभिती निवासी २१ वर्षीय दीपक विक रहेका छन् । प्रहरीका अनुसार बा १४ प २१०९ नम्बरको मोटरसाइकलमा सवार अवस्थामा उनलाई शंका लागि जाँच गर्दा उक्त लागूऔषध फेला परेको हो । पक्राउ परेका विकमाथि लागूऔषध सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






