सप्तरी । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ६ बभनगामा बस्तीमा शनिबार साँझ आगलागी हुँदा ६ परिवारका १३ घर गोठ जलेर पूर्ण रूपमा नष्ट भएका छन् । स्थानीय रामअवतार यादवको गोठमा बालिएको घुरबाट आगो सल्किएर आगलागी भएको बताइएको छ ।
शनिबार साँझ करिब ७ बजे अचानक गोठबाट सुरु भएको आगोले रामअवतार यादवका दुई घर र एक गोठ, जुगाई यादवका दुई घर र एक गोठ, अनिल यादव (गिरिजा) का दुई घर र एक गोठ, योगेन्द्र यादवको एक घर, राजकुमार यादवको एक घर तथा धिरेन्द्र यादवको एक घर जलेर नष्ट भएको स्थानीय रामनाथ यादवले जानकारी दिए ।
आगलागी नियन्त्रणका लागि हनुमाननगर कंकालिनी नगरपालिका, मधेश प्रदेश प्रहरी तालिम केन्द्र राजविराजबाट आएको वारुणयन्त्र, कोइलाडी बरसाइन प्रहरी चौकीका सुरक्षाकर्मी तथा स्थानीयवासी परिचालन भएका थिए । करिब एक घण्टापछि आगो नियन्त्रणमा ल्याइएको प्रहरीले जनाएको छ ।
आगलागीबाट खाद्यान्न, लत्ताकपडा, गरगहना, फर्निचर तथा नगदसहित करिब ३० लाख रुपैयाँभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । यद्यपि, क्षतिको पूर्ण विवरण संकलन भइरहेको छ । घटना बारे थप अनुसन्धान भइरहेको सप्तरीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीले जानकारी दिए ।






