रौतहट । नेपाल–भारत सीमामा बढ्दो अवैध घुसपैठ नियन्त्रण गर्न सुरक्षा चेकजाँच कडाइ गरिएको छ । प्रमुख नाकाहरू जोगवनी–वीरगञ्जसहित अन्य सीमा क्षेत्रहरूमा सुरक्षा निगरानी थप कडा पारिएको सुरक्षा निकायले जनाएको छ ।
पर्सा र मोरङका जिल्ला सुरक्षा समितिहरूले सीमा क्षेत्रमा हुने अवैध आवतजावत, फरार अभियुक्तहरूको प्रवेश तथा आपराधिक गतिविधि नियन्त्रण गर्न नेपाल प्रवेश गर्ने व्यक्तिहरूका लागि परिचयपत्र अनिवार्य गर्ने निर्णय गरेका छन् ।
मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाका अनुसार यो व्यवस्था दुई देशबीचको औपचारिक सहमति नभई नेपालको आन्तरिक सुरक्षा रणनीति अन्तर्गत लागू गरिएको हो । उनका अनुसार सीमा क्षेत्रबाट हुने अवैध गतिविधि रोक्न विशेष सतर्कता अपनाइएको छ ।
सुरक्षा स्रोतका अनुसार भारतको पश्चिम बंगाल क्षेत्रमा देखिएको पछिल्लो राजनीतिक अवस्थापछि सीमा क्षेत्रमा सुरक्षा संवेदनशीलता बढेको छ । विशेष गरी कलकत्ताबाट जोगवनी हुँदै रेलमार्गमार्फत ठूलो संख्यामा रोहिंग्या समुदायका व्यक्तिहरू नेपाल प्रवेश गर्न सक्ने आशंकामा रेल आगमनका बेला थप निगरानी गरिएको छ ।
सीमामा परिचयपत्र जाँच कडाइसँगै तालिम प्राप्त कुकुर परिचालन गरी चेकजाँचलाई प्रभावकारी बनाइएको छ । सुरक्षा निकायका अनुसार फरार अभियुक्त तथा शंकास्पद गतिविधिमा संलग्न व्यक्तिहरूको आवतजावत रोक्न सीमा क्षेत्रमा विशेष सुरक्षा घेरा समेत निर्माण गरिएको छ ।






