रौतहट । एक समय मधेसकै प्रमुख औद्योगिक केन्द्रका रूपमा परिचित रहेको रौतहटको जेठो उद्योग ‘श्रीराम सुगर मिल्स’ बन्द भएपछि हजारौं किसान, मजदुर र व्यवसायी प्रत्यक्ष रूपमा प्रभावित बनेका छन् । लामो समयदेखि बन्द अवस्थामा रहेको उक्त चिनी उद्योग पुन: सञ्चालन गर्न स्थानीयवासीले सरकारसँग माग गरेका छन् ।
गरुडा नगरपालिका ५ महम्मदपुरमा २०४९ सालमा उद्योगपति दिवाकर गोल्छा द्वारा स्थापना गरिएको श्रीराम सुगर मिल्सले सञ्चालनको सुरुआती वर्षदेखि नै रौतहट, बारा र सर्लाहीका उखु किसानलाई भरपर्दो बजार उपलब्ध गराएको थियो । अत्याधुनिक प्रविधिसहित सञ्चालनमा रहेको मिल्सले दैनिक ठूलो परिमाणमा उखु प्रशोधन गर्दै स्थानीय अर्थतन्त्रलाई चलायमान बनाएको थियो ।
उद्योग सञ्चालनमा रहेका बेला प्रत्यक्ष रूपमा एक हजारभन्दा बढीले रोजगारी पाएका थिए भने अप्रत्यक्ष रूपमा ढुवानी, व्यापार र कृषि क्षेत्रमा संलग्न हजारौं परिवार लाभान्वित भएका थिए । नगदे बालीका रूपमा चिनिने उखु खेतीले किसानको जीवनस्तर उकास्न महत्त्वपूर्ण भूमिका खेलेको स्थानीय बताउँछन् ।
तर, सञ्चालनको करिब २८ वर्षपछि २०७७ साउन ११ गते सञ्चालक समितिले घाटा देखाउँदै उद्योग स्थायी रूपमा बन्द गर्ने घोषणा गरेपछि जिल्लाको आर्थिक गतिविधिमा ठूलो असर परेको स्थानीयको भनाइ छ । उद्योग बन्दसँगै करिब १८ हजार उखु किसान प्रभावित भएका छन् भने झन्डै १५ हजार बिघामा फैलिएको उखु खेती क्रमश: घट्दै गएको छ ।
किसानका अनुसार उद्योग बन्द हुँदा वार्षिक सवा दुई अर्ब रुपैयाँभन्दा बढीको आर्थिक गतिविधि प्रभावित भएको छ । स्थानीय रामाशंकर महतोले चिनी मिल बन्द भएपछि किसान, मजदुर तथा साना व्यवसायीको जीविकोपार्जनमा गम्भीर असर परेको बताए ।
“मिल्स सञ्चालन हुँदा गाउँका धेरै परिवारको आयआर्जन चल्थ्यो, अहिले युवाहरू रोजगारीको खोजीमा बाहिरिन बाध्य छन्,” उनले भने, “नयाँ सरकारले उद्योग पुन: सञ्चालनका लागि पहल गरोस् भन्ने अपेक्षा छ ।” किसान अगुवा राजकुमार दास तत्माले उखु खेती घट्दै जाँदा ग्रामीण अर्थतन्त्र कमजोर बनेको बताए ।
उनका अनुसार उखु खेतीबाट प्राप्त आम्दानीले किसानको शिक्षा, स्वास्थ्य तथा दैनिक खर्च धान्ने आधार तयार गरेको थियो । “मिल बन्द भएपछि किसानको मुख्य आयस्रोत नै हराएको छ,” उनले भने, “सरकारले उद्योग सञ्चालनतर्फ गम्भीर ध्यान दिनुपर्छ ।”
स्थानीय किसान रामनाथ साहले सरकार र उद्योग सञ्चालकबीच सहमति गरी मिल्स पुनः सञ्चालन गर्न सके हजारौंले पुन: रोजगारी पाउने विश्वास व्यक्त गरे । “स्वदेशमै चिनी उत्पादन बढे आयातमा निर्भरता घट्छ,” उनले भने । महिला किसान आशादेवीले पनि उद्योग बन्द भएपछि परिवारको आर्थिक अवस्था कमजोर बनेको बताउँदै मिल्स पुन: सञ्चालन हुनुपर्ने माग गरिन् ।
उखु उत्पादक संघ रौतहटले उद्योग बन्द गर्ने निर्णय गर्दा किसान र सरोकारवालासँग पर्याप्त परामर्श नगरिएको भन्दै असन्तुष्टि जनाउँदै आएको छ । प्रारम्भिक वर्षहरूमा मुनाफामा सञ्चालन भएको उद्योग व्यवस्थापन कमजोर बन्दै जाँदा घाटामा गएको बताइन्छ । आर्थिक वर्ष २०७५/०७६ सम्म आइपुग्दा उद्योगको कुल घाटा २ अर्ब १७ करोड रुपैयाँभन्दा बढी पुगेको तथ्यांक छ ।
करिब ७४ बिघा क्षेत्रफलमा फैलिएको उद्योगको जग्गा अहिले उच्च मूल्यमा पुगेको स्थानीय बताउँछन् । तीमध्ये करिब १० बिघा जग्गा मुख्य बजार र सडकसँग जोडिएकाले व्यवसायिक दृष्टिले अत्यन्त महत्त्वपूर्ण मानिन्छ । स्थानीयवासीका अनुसार उद्योग पुन: सञ्चालन भए कृषि उत्पादन संरक्षण, रोजगारी सिर्जना तथा जिल्लाको समग्र आर्थिक पुनरुत्थानमा ठूलो योगदान पुग्नेछ । उनीहरूको एउटै माग छ- “श्रीराम सुगर मिल्स फेरि चल्नुपर्छ ।”




