सर्लाही । सर्लाहीमा भारतीय मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने अर्का किशोर घाइते भएका छन् । गएराति ईश्वरपुर नगरपालिका २ राईटरखोरमा पूर्वबाट सुकनाहातर्फ जाँदै गरेको बीआर ३० ई ६९०२ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा स्थानीय ६५ वर्षीय किसुन देव साहको मृत्यु भएको प्रहरीले जनाएको छ । उनी साइकलमा सवार थिए ।
दुर्घटनामा मोटरसाइकलको पछाडि सवार ईश्वरपुर नगरपालिका १५ सुकनाहा घर भएका सोनेलाल राउतका छोरा १४ वर्षीय बिक्की कुमार राउत घाइते भएका छन् । उनको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका किसुन देव साहलाई उपचारको लागि प्रादेशिक अस्पताल मलंगवामा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका हुन् । दुर्घटनापछि मोटरसाइकल चालक ईश्वरपुर नगरपालिका १५ सुकनाहा निवासी २३ वर्षी मनिष साहलाई प्रहरीले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।






