रौतहट । रौतहटको गौर नगरपालिका र ईशनाथ नगरपालिका जोड्ने लालबकैया नदीस्थित टिकुलियाघाट पुल निर्माण कार्य सुस्त गतिमा अघि बढिरहेको छ । पछिल्ला दिनमा काम थप प्रभावित बनेको सडक डिभिजन कार्यालय रौतहटले जनाएको छ ।
सडक डिभिजन कार्यालय रौतहटका प्रमुख अरुणकुमार लाल कर्णका अनुसार पर्याप्त बजेट उपलब्ध नहुँदा पुल निर्माणले अपेक्षित गति लिन सकेको छैन । चालु आर्थिक वर्षका लागि विनियोजित बजेट सकिएकाले निर्माण कार्य रोकिँदै गएको उनले बताए ।
उनका अनुसार निर्माण कम्पनीले पेस गरेको रनिङ बिलअनुसार करिब चार करोड रुपैयाँ भुक्तानी गर्न बाँकी छ । “चालु आर्थिक वर्षमा विनियोजित दुई करोड रुपैयाँ खर्च भइसकेको छ, तर थप भुक्तानी हुन सकेको छैन,” प्रमुख कर्णले बताए ।
छ स्पानमध्ये पाँच स्पानको ढलान कार्य सम्पन्न भएपनि बाँकी काम बजेट अभावका कारण अघि बढ्न नसकेको कार्यालयले जनाएको छ । भ्याटसहित २७ करोड ६६ लाख ८ हजार १७६ रुपैयाँ लागतमा निर्माण भइरहेको उक्त पुल २०८० असोज ९ गते आजाद दिपु एन्ड कम्पनी जेभीसँग सम्झौता गरी निर्माणको जिम्मा दिइएको हो ।
सम्झौताअनुसार निर्माण कार्य २०८३ असार ३० भित्र सम्पन्न गर्नुपर्ने छ । निर्माण कम्पनीका प्रोपाइटर रामसागर चौरसियाले भुक्तानी नपाएको र निर्माण सामाग्रीको मूल्य वृद्धि भएको कारण काम सुस्त भएको बताएका छन् । उनका अनुसार करिब चार करोड रुपैयाँ बराबरको काम सम्पन्न भएपनि हालसम्म भुक्तानी प्राप्त भएको छैन ।
हालसम्म पुलको भौतिक प्रगति करिब ३५ प्रतिशत र आर्थिक प्रगति २१.३३ प्रतिशत मात्र रहेको तथ्यांक सार्वजनिक गरिएको छ । सडक डिभिजन कार्यालयले समयमै काम सम्पन्न गर्न थप बजेट आवश्यक रहेको भन्दै मन्त्रालयसँग माग गरिएको जनाएको छ । तर बजेट स्वीकृतिमा ढिलाइ हुँदा परियोजना अनिश्चिततामा परेको छ ।
यसअघि यही पुल निर्माणको जिम्मा पप्पु कन्स्ट्रक्सनले लिएको थियो । २०७१ सालमा सुरु भएको सो परियोजना समयमा पूरा नभएपछि २०८० असार १५ मा ठेक्का रद्द गर्दै कम्पनीलाई कालोसूचीमा राखिएको थियो । स्थानीयवासीले लामो समयदेखि अलपत्र अवस्थामा रहेको पुल छिटो सम्पन्न गर्न सरकारसँग माग गर्दै आएका छन् ।




