सिरहा । सिरहामा भारतीय सुटरको प्रयोग गरी योजनाबद्ध रूपमा हत्या र हत्या प्रयासका दुई छुट्टाछुट्टै घटना भएको खुलासा भएको छ । प्रहरीले तीन महिनाको अनुसन्धानपछि घटनामा संलग्न स्थानीय र विदेशी गिरोहबीचको सम्बन्ध पत्ता लगाएको जनाएको छ ।
प्रहरीका अनुसार सिरहा नगरपालिका १ का ४२ वर्षीय प्रेमनाथ यादवको हत्या भारतीय सुटर प्रयोग गरी गराइएको पुष्टि भएको छ । यादवको गत माघ १६ गते दिउँसो सिरहा नगरपालिका ७ स्थित आफ्नै खेत नजिकको बाँघासारी क्षेत्रमा गोली प्रहार गरी हत्या गरिएको थियो ।
अनुसन्धानमा संलग्न सुराकी र बयानका आधारमा सिरहा नगरपालिका १ का ५२ वर्षीय उपेन्द्र यादवले पारिवारिक रिसइबीका कारण हत्या गराएको खुलेको प्रहरीले जनाएको छ ।
उपेन्द्र यादवले चार वर्षदेखि परिवारसँग चलेको विवादका कारण भारतीय सुटरलाई ‘सुपारी’ दिएर हत्या गराएको स्वीकार गरेको प्रहरीको भनाइ छ । उनका अनुसार सुटरलाई तीन लाख रुपैयाँ दिने सहमति भएकोमा एक लाख रुपैयाँ तत्काल भुक्तानी गरिएको र बाँकी दुई लाख दिन बाँकी रहेको थियो ।
प्रहरीले उपेन्द्र यादवविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरी सिरहा जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर थप अनुसन्धान अघि बढाएको छ । घटनामा संलग्न अन्य भारतीय नागरिकहरूको खोजी कार्य जारी रहेको प्रहरी उपरीक्षक बासुदेव पाठकले जानकारी दिए ।
यसै अनुसन्धानका क्रममा प्रहरीले अर्को गोली प्रहार घटना समेत पत्ता लगाएको छ । औरही गाउँपालिका ५ का श्यामसुन्दर शर्मामाथि पनि सोही सुटर समूहले हत्या प्रयास गरेको खुलेको हो ।
गत माघ ४ गते राति करिब १२ बजे जितिया मन्दिरमा सुतिरहेका शर्मामाथि झ्यालबाट गोली प्रहार गरिएको थियो । गोली टाउकोमा लागे पनि उपचारपछि उनी निको भइसकेका छन् ।
सो घटनामा औरही गाउँपालिका ५ का ५५ वर्षीय हरि ठाकुरले पारिवारिक रिसइबीका कारण ५० हजार रुपैयाँ दिई भारतीय सुटरमार्फत हत्या प्रयास गराएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
प्रहरीले दुवै घटनामा संलग्न भारतीय सुटर र उनीहरूलाई सहयोग गर्ने स्थानीय व्यक्तिहरूको खोजी तीव्र पारेको छ । घटनाले सीमापार संगठित अपराध र सुपारी किलिङ नेटवर्क सक्रिय रहेको संकेत गरेको प्रहरीको निष्कर्ष छ ।






