सप्तरी । सप्तरीमा अपहरण, शरीर बन्धक तथा अपमानजनक व्यवहार सम्बन्धी कसुरमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सप्तरीको महादेवा गाउँपालिका १ घर भई हाल राजविराज नगरपालिका ३ बस्ने २७ वर्षीय मुस्तकिम मियाँ रहेका छन् । उनलाई प्रहरीले सोमबार पक्राउ गरिएको हो ।
पीडितको किटानी जाहेरी अनुसार पक्राउ परेका मियाँसहितका व्यक्तिले अपहरण गरी एकान्त स्थानमा लगेर शरीर बन्धक बनाएको, डरत्रास देखाई कुटपिट तथा जबरजस्ती गरेको आरोप छ ।
साथै, शरीरका कपडा खोली नाङ्गै बनाई भिडियो समेत बनाएर यातना दिएको भन्दै पीडितले जाहेरी दिएका थिए । सोही जाहेरीका आधारमा खोज तलास गर्ने क्रममा मियाँलाई राजविराज ८ बाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
अदालतबाट पक्राउ पुर्जी जारी भएपछि उनलाई रीतपूर्वक पक्राउ गरी जिल्ला सरकारी वकिल कार्यालयमार्फत सप्तरी जिल्ला अदालत, राजविराजबाट अपहरण, शरीर बन्धक तथा अपमानजनक व्यवहार कसुर मुद्दामा सात दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको सप्तरीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीले जानकारी दिए ।




