रौतहट । नेपालबाट तस्करीमार्फत भारत पुर्याइएको लागूऔषध चरेशसहित एक युवक पक्राउ परेका छन् । भारतीय सीमा सुरक्षा बल (एसएसबी) ७१ औँ बटालियन र बिहार प्रहरीको संयुक्त टोलीले विशेष सूचनाको आधारमा छापामारी गर्दै पौने ३ किलो चरेश बरामद गरेको हो ।
एसएसबीका अनुसार भारतको बिहार राज्य अन्तर्गत मोतीहारी जिल्लाको जितना थाना क्षेत्रस्थित अगरवा गाउँमा मंगलबार बिहान छापामारी गरिएको थियो । छापामारीका क्रममा गजेन्द्र राय यादवको घरभित्र बोरामा लुकाइराखिएको करिब पौने ३ किलो चरेश फेला परेको एसएसबी मुख्यालय पिपराकोठीका सहायक कमान्डेन्ट बिश्वजित तिवारीले जानकारी दिए ।
लागुऔषध कारोबारमा संलग्न रहेको आरोपमा घरधनीका २६ वर्षीय छोरा मुन्ना कुमार यादवलाई पक्राउ गरिएको छ । पक्राउ परेका मुन्नालाई बरामद चरेशसहित आवश्यक कारबाहीका लागि जितना थानामा बुझाइएको एसएसबी प्रवक्ता विनित कुमार सिंहले बताएका छन् ।
प्रारम्भिक अनुसन्धानका क्रममा बरामद चरेश बारा जिल्लाको सीमावर्ती नाका हुँदै नेपालबाट भारत तस्करी गरिएको आरोपितले स्वीकार गरेको एसएसबी ७१ औँ बटालियन पिपराकोठीले जनाएको छ ।




