रौतहट । रौतहटको गौर नगरपालिकाले नगर क्षेत्रलाई व्यवस्थित र स्वच्छ बनाउने अभियान अन्तर्गत अवैध रूपमा निर्माण गरिएका घर, टहरा र अन्य संरचनाहरू भत्काउन सुरु गरेको छ । सार्वजनिक सडक, नाला र ऐलानी जग्गा मिचेर बनाइएका संरचनाहरूका कारण नगरको स्वरूप बिग्रिएको र आवागमनमा ठूलो बाधा पुगेको भन्दै नगरपालिकाले डोजर चलाउन थालेको हो ।
नगरपालिकाले बजार क्षेत्र र विभिन्न वडाहरूमा बाटो अवरोध गरी निर्माण गरिएका अवैध संरचना हटाउन एक महिनाअघि नै सार्वजनिक सूचना जारी गरेको थियो । स्थानीय प्रशासन र नगरपालिकाले पटक पटक मौखिक तथा लिखित रूपमा त्यस्ता संरचना स्वतः हटाउन अनुरोध गरेपनि स्थानीयबासीले बेवास्ता गर्दै आएका थिए ।
गौर नगरपालिकाका नगर प्रहरी प्रमुख आर.पी. साहका अनुसार नागरिककै पटक–पटकको ताकेता र अनुरोधलाई अटेर गरिएपछि बाध्य भएर कानुनी रूपमा डोजर प्रयोग गरी संरचना भत्काउनु परेको हो । ‘हामीले स्थानीयलाई पर्याप्त समय दिएका थियौँ, तर सूचनाको पूर्ण बेवास्ता भएपछि नगर प्रहरीको नेतृत्वमा एक्सन लिइएको हो,’ प्रमुख साहले बताए ।
यस अभियान अन्तर्गत सार्वजनिक सवारी साधन र पैदल यात्रुलाई आवतजावतमा अवरोध पुर्याउने गरी सडकको दायाँ–बायाँ बनाइएका भौतिक संरचनाहरू भत्काइएका छन् । यसै क्रममा ऐतिहासिक तथा धार्मिक महत्त्वको रामजानकी मठको जग्गा कब्जा गरेर बनाइएका अवैध टहराहरू समेत पूर्ण रूपमा हटाइएको छ ।
लामो अवधिसम्म सडक खण्ड ओगटेर राखिएका यस्ता सामग्री र संरचनाका कारण सडक साँघुरो भई दैनिक रूपमा दुर्घटनाको जोखिम बढेको र बजार क्षेत्र कुरूप देखिएको भन्दै व्यापक जनगुनासो आउने गरेको थियो । अवैध संरचना हटाउने क्रममा केही विपन्न परिवारहरू विस्थापित हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै नगरपालिकाले मानवीय पक्षलाई पनि ध्यान दिने जनाएको छ ।
गौर नगरपालिकाले वास्तविक भूमिहीन, सुकुम्वासी र असाहाय परिवारहरूको पहिचान गरी उनीहरूलाई उचित ठाउँमा व्यवस्थापन गर्ने नीति लिएको छ । तर, भूमिहीनको नाममा जताततै सार्वजनिक जग्गा कब्जा गर्ने, व्यापारिक स्वार्थका लागि टहरा बनाउने र नगरको विकासमा बाधा पु¥याउने कार्यलाई कडा रूपमा नियन्त्रण गरिने पालिकाको भनाइ छ ।
नगरपालिकाले नगरबासीहरूलाई सार्वजनिक जग्गा जथाभावी कब्जा नगर्न र आफ्ना संरचनाहरू आफैँ व्यवस्थापन गरेर पालिकालाई स्वच्छ, सुन्दर र व्यवस्थित बनाउने अभियानमा सहयोग गर्न अपिल गरेको छ । नगरलाई सुन्दर बनाउने यो अभियान आगामी दिनमा पनि निरन्तर जारी रहने र सडक मिच्ने जोकोहीलाई पनि कानुनी दायरामा ल्याइने नगर प्रशासनले स्पष्ट पारेको छ ।




