सिरहा । सिरहाको लहानस्थित रामकुमार सारडा उमाप्रसाद मुरारका प्रादेशिक अस्पतालमा ठूलो अपेक्षासहित उद्घाटन गरिएको ‘सिटी स्क्यान’ सेवा अझै सञ्चालनमा आउन सकेको छैन । अत्याधुनिक मेसिन जडान भएर उद्घाटन भइसके पनि आवश्यक दक्ष जनशक्ति अभावका कारण सेवा ठप्प बनेको हो ।
गत वैशाख २१ गते औपचारिक रूपमा उद्घाटन गरिएको उक्त सेवा सञ्चालनका लागि आवश्यक प्राविधिक कर्मचारी नहुँदा बिरामीहरूले सुविधा पाउन सकेका छैनन् ।
अस्पताल प्रशासनका अनुसार सिटी स्क्यान सेवा नियमित सञ्चालन गर्न कम्तीमा एक जना रेडियोलोजिस्ट, एक जना रेडियो प्राविधिक तथा एक जना सहयोगी कर्मचारी आवश्यक पर्ने भएपनि हाल ती जनशक्ति उपलब्ध छैनन् ।
अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष रामनारायण मेहताले सेवा सुरु हुन नसक्दा सर्वसाधारणमा नकारात्मक सन्देश गएको बताए । उनले अत्याधुनिक मेसिन ल्याउन धेरै प्रयास गरिए पनि दक्ष जनशक्ति अभावले सेवा सञ्चालन गर्न समस्या भएको उल्लेख गरे ।
“आम नागरिकले सस्तो र सहज रूपमा विशेषज्ञ सेवा पाऊन् भन्ने उद्देश्यले सिटी स्क्यान मेसिन ल्याइयो, तर सञ्चालन गर्ने जनशक्ति नहुँदा अपेक्षित सेवा दिन सकिएको छैन,” अध्यक्ष मेहताले भने ।
हालै अस्पताल प्रमुखको जिम्मेवारी सम्हाएकी डा. वर्षा प्रकाशले आवश्यक जनशक्ति व्यवस्थापनका लागि प्रदेश सरकारसँग समन्वय भइरहेको जानकारी दिए ।
उनका अनुसार सम्बन्धित मन्त्रालयसँग निरन्तर पहल भइरहेपनि प्रदेशभर नै रेडियोलोजिस्ट अभाव रहेकाले कर्मचारी पठाउने विषय अझै अनिश्चित बनेको छ ।
जानकारहरूका अनुसार यसअघि यही अस्पतालमा कार्यरत वरिष्ठ रेडियोलोजिस्ट डा. बृजेन्द्रकुमार साहको सरुवापछि समस्या थप जटिल बनेको हो ।
मधेस प्रदेशमा कर्मचारी समायोजनबाट आएका एक्ला वरिष्ठ रेडियोलोजिस्ट डा. साहलाई गत माघ २ गते सर्लाहीको मलङ्गवास्थित प्रादेशिक अस्पतालमा सरुवा गरिएको थियो ।
प्रदेश सरकारले डा. साहकै विशेषज्ञतालाई ध्यानमा राखेर लहान अस्पतालमा सिटी स्क्यान मेसिन पठाएको बताइन्छ । तर उनको सरुवापछि मेसिन सञ्चालन अन्योलमा परेको हो ।
मधेस प्रदेश सरकारका तत्कालीन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री शत्रुधनप्रसाद सिंहको कार्यकालमा आर्थिक वर्ष २०८१/८२ मा करिब १२ करोड रुपैयाँ लागतमा दुई वटा सिटी स्क्यान मेसिन खरिद गरिएको थियो ।
तीमध्ये एउटा मेसिन जनकपुरस्थित मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानमा र अर्को लहानस्थित प्रादेशिक अस्पतालमा जडान गरिएको तत्कालीन प्रदेश आपूर्ति व्यवस्थापन केन्द्रका महानिर्देशक डा. सुनिलप्रसाद कुशवाहाले जानकारी दिए ।




