रौतहट । पूर्व पश्चिम लोकमार्गसँग जोडिएको रौतहटको चन्द्रपुर नगरपालिका ५ स्थित चाँदी पुल नजिक बिहिबार बिहान एक युवक रक्ताम्मे अवस्थामा मृत फेला परेका छन् ।
घटनाले स्थानीय क्षेत्रमा सनसनी फैलिएको छ । मृतक माधव नारायण नगरपालिका १ दिपही निवासी २४ वर्षीय रंजय कुमार यादव रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी प्रवक्ता डिएसपी विष्णु प्रदीप बस्यालका अनुसार बिहान करिब साढे ६ बजे सडक छेउमा टाउकोमा गम्भीर चोट लागेको अवस्थामा उनको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
सूचना प्राप्त हुना साथ इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट प्रहरी टोली घटनास्थल पुगेको थियो । प्रहरीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव पोस्टमार्टमका लागि चन्द्रनिगाहपुर सरकारी अस्पतालमा राखिएको जनाएको छ ।
प्रहरीका अनुसार घटनाको प्रकृति शंकास्पद देखिएकाले विभिन्न कोणबाट अनुसन्धान अघि बढाइएको छ । मृतकको टाउकोमा गम्भीर चोट देखिएकाले दुर्घटना, कुटपिट वा अन्य कुनै आपराधिक कारण हुन सक्ने आशंकामा अनुसन्धान केन्द्रित गरिएको प्रहरी स्रोतले जनाएको छ ।




