रौतहट । यमुनामाई गाउँपालिकामा जनप्रतिनिधिबीच सहमति जुट्न नसक्दा चालू आर्थिक वर्षका विकास निर्माणका योजना अझै कार्यान्वयनमा जान सकेका छैनन् । आर्थिक वर्ष सकिन करिब दुई महिना मात्र बाँकी रहँदा पनि गाउँपालिकाको विकास प्रगति शून्य रहेको बताइएको छ ।
गाउँ कार्यपालिकाको कार्यालय सरुअठाका प्रमुख प्रशासकीय अधिकृत बृजमोहनप्रसाद साहका अनुसार कार्यपालिकाको बैठकबाट आवश्यक निर्णय र सहमति हुन नसक्दा विकास निर्माणसम्बन्धी काम अघि बढ्न सकेको छैन । हाल गाउँपालिकामा प्रशासनिक कामकाज, अनुगमन तथा विभिन्न तालिम र गोष्ठीमा सहभागिताजस्ता नियमित गतिविधि मात्र सञ्चालन भइरहेको उनले जानकारी दिए ।
उनका अनुसार विकास योजनासम्बन्धी काम भने अझै सुरू हुन सकेको छैन । जेठ महिनाको पहिलो सातादेखि योजनाहरू कार्यान्वयनमा लैजाने तयारी भइरहेको पनि उनले बताएका छन् । वैशाख १४ गते गाउँपालिकामा हाजिर भएका प्रमुख प्रशासकीय अधिकृत साहले आफू आएदेखि नै जनप्रतिनिधिबीच समन्वय र सहमति कायम गराउने प्रयास गरिरहेको उल्लेख गरे ।
समयमै योजना सञ्चालन हुन नसक्दा विकास बजेट खर्च हुन नसक्ने तथा निर्धारित कार्यक्रम अधूरै रहने जोखिम बढेको भन्दै स्थानीयवासीले चिन्ता व्यक्त गरेका छन् । स्थानीयका अनुसार जनप्रतिनिधिबीचको असमझदारीका कारण विकास निर्माण प्रभावित हुँदा सर्वसाधारण प्रत्यक्ष मारमा परेका छन् ।




