काठमाडौं । कपिलवस्तुको तौलिहवास्थित विश्वमैत्री आधारभूत विद्यालयका प्रधानाध्यापक विश्वम्भर दास भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालतका सदस्यहरू न्यायाधीशत्रय नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले रैदास दोषी ठहर हुने फैसला गरेको हो ।
रैदासबाट भ्रष्टाचार भएको चार लाख ४३ हजार ४३० रुपैयाँ ७५ पैसा असुलउपर गरी त्यति नै जरिवाना हुने फैसला भएको छ । साथै, उनलाई ६ महिना कैद सजाय हुने विशेषको फैसला छ । अपराधपीडित संरक्षण कोषमा १७ हजार ७३७ रुपैयाँ २३ पैसा दाखिला गर्नुपर्ने ठहर पनि अदालतले गरेको छ ।
विद्यार्थीका निम्ति उपलब्ध गराइएको दिवा खाजा, पाठ्यपुस्तक, छात्रवृत्ति र शिक्षकको सामाजिक सुरक्षा कर समेतका शीर्षकको चार लाख ४३ हजार ४३० रुपैयाँ ७५ पैसा हिनामिना गरेको उनीमाथि आरोप थियो ।






