काठमाडौं । जेनजी आन्दोलनका क्रममा मधेस प्रदेशका विभिन्न कारागार तथा हिरासत केन्द्रबाट फरार भएका कैदीबन्दीमध्ये अझै ४४९ जना पक्राउ पर्न बाँकी रहेको पाइएको छ । मधेस प्रदेश प्रहरी कार्यालयले सार्वजनिक गरेको तथ्यांकले आन्दोलनपछि पनि ठूलो संख्यामा फरार व्यक्तिहरू कानूनको पहुँचबाहिर रहेको देखाएको हो ।
प्रहरीका अनुसार आन्दोलनका क्रममा प्रदेशभरबाट कुल १ हजार ४५ जना कैदीबन्दी फरार भएका थिए । तीमध्ये हालसम्म ५९६ जनालाई पुन: पक्राउ गरिएको छ भने बाँकी ४४९ जनाको खोजी जारी रहेको जनाइएको छ ।
सबैभन्दा बढी फरार महोत्तरी कारागारबाट भएका थिए । त्यहाँबाट ५७६ जना भागेकामा ३२५ जनालाई मात्रै पुन: नियन्त्रणमा लिन सफल भएको प्रहरीले जनाएको छ । अझै २५१ जना फरार नै रहेका छन्, जुन प्रदेशभर फरार रहेका कुल कैदीबन्दीमध्ये सबैभन्दा ठूलो संख्या हो ।
रौतहट कारागारबाट फरार भएका २५९ जनामध्ये १४७ जना पक्राउ परिसकेका छन् भने ११२ जना अझै फरार छन् । सप्तरी कारागारबाट भागेका २०५ जनामध्ये १३० जना पक्राउ परेका छन् भने ७५ जनाको खोजी भइरहेको छ ।
सिरहामा फरार भएका १० जनामध्ये ४ जना पक्राउ परिसकेका छन् भने ६ जना अझै सम्पर्कविहीन छन् । रौतहटको हिरासतबाट फरार भएका १४ जनामध्ये एक जना मात्रै पक्राउ परेका छन् भने १३ जना अझै फरार रहेको विवरणमा उल्लेख छ ।
सर्लाहीमा भने हाल कुनै पनि फरार कैदीबन्दी नरहेको प्रहरीले जनाएको छ । उता, पर्सा कारागारमा फरारको घटना नभए पनि बाल सुधार गृहबाट ६८ जना बालक फरार भएको तथ्यांकमा उल्लेख छ ।
तीमध्ये २० जनालाई मात्र पुन: नियन्त्रणमा लिइएको छ भने ४८ जना अझै सम्पर्कबाहिर रहेका छन् । लामो समय बितिसक्दा पनि सयौं कैदीबन्दी पक्राउ नपर्नुले कारागार सुरक्षा, आन्दोलन व्यवस्थापन तथा प्रहरी संयन्त्रको प्रभावकारितामाथि प्रश्न उठ्न थालेको छ ।




