सर्लाही । सर्लाहीमा घरको छतबाट खस्दा दुई जना मिस्त्रीको मृत्यु भएको घटना अनुसन्धानका लागि प्रहरीले घर निर्माणको ठेक्का लिने ठेकेदारलाई पक्राउ गरेको छ ।
गएको बुधबार मलंगवा नगरपालिका १० बस्ने रञ्जित यादवको चार तल्ले पक्की घरको छत भत्काउने क्रममा छतसहित जमिनमा खस्दा मिस्त्रिको काम गर्ने दुई जना मजदुरको मृत्यु भएको थियो ।
घटनामा मलंगवा नगरपालिका २ घर भएका ५० वर्षीय छटु साह र सर्लाहीकै हरिपुर्वा नगरपालिका २ बस्ने वर्ष ४० का राजकिशोर यादवको मृत्यु भएको थियो ।
उक्त घटना अनुसन्धानको लागि मलंगवा नगरपालिका वडा नम्बर ३ मा बस्ने सुनिल साह भन्ने सुलिन्द्र प्रसाद साहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । उनी ठेकेदार हुन् ।
मृतकका आफन्तले ठेकेदारको लापरबाहीले घटना भएको भन्दै दोषीलाई पक्राउ गरेर कारबाही प्रक्रिया अघि बढाउन र पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन माग गर्दै आएका छन् ।
उनलाई ज्यान सम्बन्धी कसुरमा पक्राउ गरेर सर्लाही जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।




