बारा । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत बाराको ३ नं पुल क्षेत्रमा भएको अतिक्रमण हटाउने क्रममा दुई घरधुरी मात्र वास्तविक सुकुमबासी रहेको पाइएको छ । डिभिजन वन कार्यालय, बाराको नेतृत्वमा स्थानीय प्रहरी प्रशासन, पर्सा राष्ट्रिय निकुञ्ज, वनरक्षक, कर्मचारी र सडक डिभिजन कार्यालय, हेटौँडाको संयुक्त टोलीले सो अतिक्रमण हटाएको हो ।
पटक पटकको सूचनालाई बेवास्ता गर्दै आएका स्थानीयलाई बल प्रयोग गरी खाली गराइएको हो । शुक्रबार बिहान ७ बजेदेखि सुरु भएको अतिक्रमण हटाउने कार्य साँझ ६ बजेसम्म चलेको थियो । वन अधिकृत ललन राउतका अनुसार अतिक्रमण हटाइएका ३५ घरधुरीमध्ये प्रारम्भिक जानकारीमा दुई परिवार बाहेक अहिलेसम्म वास्तविक सुकुमबासी कोही नभेटिएको बताए ।
महेन्द्र राजमार्गको दायाँबायाँ २५/२५ मिटर सडक क्षेत्रबाहेक वनदेवी सामुदायिक वन र पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्र अतिक्रमण गरी बसोबास गर्ने ३५ घरधुरीलाई हटाइएको वन कार्यालयले जनाएको छ । अतिक्रमण हटाउनुअघि नै करिब दुई साताअगाडि अन्यत्र घरबास नहुनेहरूलाई स्थानीय तहमा जानकारी गराउन सूचित गरेको थियो ।
अतिक्रमित स्थानमा २०३५ सालदेखि नै होटल व्यवसाय सञ्चालन हुँदै आएका थिए । यहाँका अधिकांश होटल सञ्चालकहरू हेटौँडाका स्थायी बासिन्दा पाइएको छ । अधिकृत झाले वास्तविक सुकुमबासीहरू प्रमाणसहित आए सहयोग गरिने जानकारी दिए ।
अतिक्रमण हटाउने क्रममा स्थानीयले भने सामान हटाउन १५ दिनको समय दिन माग गरेका थिए । तर, सडक डिभिजन कार्यालय, हेटौँडा र वन कार्यालयले वैशाख पहिलो साता नै तीनदिने सूचना जारी गर्दै महेन्द्र राजमार्गको पथलैया अम्लेखगञ्ज–चुरियामाई मन्दिरसम्म अनधिकृत रूपमा वन अतिक्रमण गरी बनाइएका घरटहरा हटाउन निर्देशन दिएका थिए ।




