रौतहट । रौतहटको दक्षिणी भेगमा भारतीय सीमासँग जोडिएको बौधिमाई नगरपालिकाका मेयर प्रदीप यादवमाथि फेरि गम्भीर दुर्व्यवहारको आरोप लागेको छ । एक शिक्षकले आफूलाई नगरपालिकाभित्रै घण्टौँ नियन्त्रणमा राखेर कुटपिट गरिएको दाबी गरेका छन् ।
शंकर गुदर मावि, सरमुजवामा कार्यरत शिक्षक रामबाबु यादवका अनुसार नगरपालिकाका लेखापाल तथा शिक्षा संयोजक रमेश यादवले शुक्रबार छलफलको बहानामा उनलाई कार्यालयमा बोलाएका थिए ।
त्यसपछि मेयर प्रदीप यादव, वडाध्यक्ष विन्देश्वर यादव र कार्यपालिका सदस्य सुनिल जयसवालसहितको समूहले आफूलाई एउटा कोठाभित्र नियन्त्रणमा राखेर कुटपिट गरेको आरोप उनले लगाएका छन् ।
शिक्षक यादवका अनुसार दिउँसो करिब २:३० बजेदेखि राति ९ बजेसम्म आफूलाई कोठाभित्र थुनेर राखिएको थियो । सो अवधिभर गालीगलौज, धम्की, मानसिक यातना तथा निर्घात कुटपिट गरिएको र ज्यान मार्ने धम्की समेत दिइएको उनले बताएका छन् ।
घटनापछि न्यायको खोजीमा प्रहरी प्रशासन पुगेपनि हालसम्म प्रभावकारी सुनुवाइ नभएको भन्दै उनले गुनासो गरेका छन् । स्थानीयवासीले पनि घटना सार्वजनिक भइसकेपछि समेत कुनै ठोस कारबाही नभएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी बिष्णु प्रदीप बस्यालले घटनाबारे लिखित निवेदन परेको जानकारी दिएका छन् । उनका अनुसार शिक्षक यादवको घाउ जाँचसम्बन्धी केस फारमसमेत गरिएको छ र घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
यता मेयर प्रदीप यादवले भने कुटपिट वा थुनछेकसम्बन्धी सम्पूर्ण आरोपको खण्डन गरेका छन् । पीडित भनिएका शिक्षक रामबाबु यादवले यसअघि आफ्नै फेसबुक आईडीबाट “म्यादी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, म्यादी वडाध्यक्ष, म्यादी मेयर, तिमीहरूलाई थोरै पनि नैतिकता छ भने आ-आफ्नो पदबाट राजीनामा देऊ” भन्ने आशयको पोस्ट गरेका थिए ।
सो विषयमा नगरपालिकाबाट सात दिने लिखित स्पष्टीकरण माग गरिएको थियो । तर शिक्षक यादवले उक्त स्पष्टीकरणको जवाफ नदिएपछि शुक्रबार कार्यपालिका बैठकमा बोलाएर सोही पोस्टबारे सोधपुछ गरिएको मेयर यादवले बताएका छन् । मेयर यादवले “उहाँलाई नैतिकताको पाठ सिकाइएको हो, तर थुनछेक वा कुटपिट गरिएको होइन” भन्ने दाबी गरेका छन् ।
स्थानीयका अनुसार मेयर प्रदीप यादवमाथि यसअघि पनि कर्मचारीमाथि कुटपिट, सार्वजनिक दुर्व्यवहार, स्वास्थ्यकर्मीलाई शौचालयमा थुन्ने, शिक्षकलाई नियन्त्रणमा लिएर हातपात गर्ने, योजना प्रमुखलाई डोरीले बाँध्ने तथा कर्मचारीसँग अभद्र व्यवहार गर्ने जस्ता आरोप लाग्दै आएका छन् ।
केही दिनअघि रानी शर्मा तिवारीसँग पनि उनको विवाद भएको चर्चा चलेको थियो । मन्त्रालय परिसरमा भएको भनिएको उक्त विवादपछि प्रहरीको सहयोगमा उनलाई बाहिर निकालिएको विषय सामाजिक सञ्जालमा समेत चर्चामा आएको थियो ।
बारम्बार यस्ता आरोप सार्वजनिक भइरहँदा पनि सम्बन्धित निकाय मौन बसेको भन्दै स्थानीयले प्रश्न उठाएका छन् । उनीहरूले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न माग गरेका छन् ।




