जनकपुर । धनुषामा मिटरब्याज पीडितहरूले अनिश्चितकालीन आन्दोलन सुरु गरेका छन् । विभिन्न मागहरू राख्दै उनीहरूले आइतबार जिल्ला प्रहरी कार्यालय धनुषा अगाडि प्रदर्शन गरेका हुन् ।
मिटरब्याज किसान मजदुर आन्दोलन नेपाल, धनुषाका अध्यक्ष सम्भु प्रसाद यादवका अनुसार केही दिनअघि फुलगामा ४ की मिटरब्याज पीडित सुनिता साहलाई प्रहरीले पक्राउ गरेपछि आन्दोलन थप चर्किएको हो । पीडितलाई न्याय दिनुको साटो उल्टै पक्राउ गरी थप पीडा दिइएको भन्दै आफूहरू आन्दोलनमा उत्रिन बाध्य भएको उनले बताए ।
आन्दोलनकारीहरूले अबदेखि जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला अदालत र सरकारी वकिल कार्यालय अगाडि दैनिक रूपमा शान्तिपूर्ण धर्ना तथा विरोध कार्यक्रम सञ्चालन गर्ने बताएका छन् ।
उनीहरूले माग पूरा नभएसम्म अनिश्चितकालीन आन्दोलन जारी रहने चेतावनी दिए । अध्यक्ष यादवका अनुसार मिटरब्याजीलाई कारबाही गर्नुको साटो पीडितलाई नै पक्राउ गर्ने घटनाहरू बढ्दै गएको भन्दै राज्य संयन्त्रप्रति असन्तुष्टि व्यक्त गरिएको छ ।
उनले यसअघि पनि वैशाख २१ गते केन्द्र र प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाएर समस्या समाधानको माग गरिएको तर कुनै ठोस पहल नभएको गुनासो गरे । आन्दोलनकारीहरूले “मिटरब्याज पीडितलाई पक्राउ गर्न बन्द गर”, “सुदखोरलाई कारबाही गर”, “प्रहरी प्रशासनको दमन बन्द गर” लगायतका नारा लगाएका थिए ।
उनीहरूले पक्राउ परेका मिटरब्याज पीडितहरूको रिहाइ र वास्तविक मिटरब्याजीमाथि कारबाही नभएसम्म आन्दोलन जारी रहने बताएका छन् । धनुषामा मात्र करिब ७० हजार मिटरब्याज पीडित रहेको दाबी आन्दोलनकारीहरूले गरेका छन् ।




