धनुषा । धनुषाका विभिन्न स्थानबाट प्रहरीले ठूलो परिमाणमा नियन्त्रित लागूऔषधसहित चार जनालाई पक्राउ गरेको छ । धनुषाधाम नगरपालिका ८ भिमान चोकबाट नियन्त्रित लागूऔषधसहित गणेशमान चारनाथ नगरपालिका १ बस्ने ३४ वर्षीय सन्तोष कुमार विश्वकर्मालाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय ढल्केवरबाट खटिएको प्रहरी टोलीले उनको साथबाट टापेन्टाडोल २ हजार ९ सय ट्याब्लेट, स्पासरेस्ट १ हजार ५ सय ९० ट्याब्लेट, ट्रमाडोल १ सय २९ ट्याब्लेट, स्पास्पेन ५ सय ट्याब्लेट तथा स्पास्मो ३ सय ट्याब्लेट बरामद गरेको जनाएको छ ।
यसैगरी मिथिला नगरपालिका १० लालगढ सुनौलो बस्तीबाट पनि प्रहरीले नियन्त्रित लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा महोत्तरीको बर्दिबास नगरपालिका ७ घर भई हाल सोही स्थानमा डेरा गरी बस्ने ३० वर्षीय विजय लिम्बु सहित तीन जना रहेका छन् ।
प्रहरीका अनुसार उनीहरूको साथबाट टापेन्टाडोल ९२ ट्याब्लेट, स्पासरेस्ट ८३ ट्याब्लेट तथा नगद १५ हजार ५ सय २० रुपैयाँ बरामद गरिएको छ ।
इलाका प्रहरी कार्यालय ढल्केवरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ परेकामाथि लागूऔषध सम्बन्धी मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




