बारा । बाराको सदरमुकाम कलैयामा यौनिक तथा लैंङ्गिक अल्पसंख्यक समूदायका व्यक्ति एवम किन्नरहरुबीचको आपसी विवादले उग्ररूप लिँदा जिल्ला प्रहरी कार्यालय अगाडिको क्षेत्र केही समय तनावग्रस्त बनेको छ । एक जना किन्नरलाई प्रहरीले नियन्त्रणमा लिएपछि सुरु भएको विरोध प्रदर्शन झडपमा परिणत भएको हो ।
स्थिति नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज समेत गर्नुपरेको थियो । स्थानीय स्रोतका अनुसार कलैयामा किन्नर तथा यौनिक तथा लैंङ्गिक अल्पसंख्यक समुदायका दुई पक्षबीच केही समयदेखि आन्तरिक विवाद चल्दै आएको थियो ।
सोही विवादका क्रममा शान्ति सुरक्षामा खलल पु¥याएको आरोपमा प्रहरीले एक जना किन्नरलाई पक्राउ गरेको थियो । आफ्नो साथीलाई बिनासर्त तत्काल रिहा गर्नुपर्ने माग राख्दै समुदायका अन्य सदस्यहरू आन्दोलित भएका हुन् ।
पक्राउको विरोधमा आक्रोशित बनेका किन्नरहरू ठूलो संख्यामा जिल्ला प्रहरी कार्यालय बाराको मुख्य गेट अगाडि जम्मा भएका थिए । प्रदर्शनकारीहरूले प्रहरी प्रशासनविरुद्ध चर्को नाराबाजी गर्दै सडकमै अर्धनग्न भएर प्रदर्शन सुरु गरे ।
चोक र सरकारी कार्यालय अगाडि भएको यस्तो अप्रत्याशित प्रदर्शनले गर्दा आसपासको यातायात र बजार क्षेत्र समेत केहीबेर प्रभावित बनेको थियो । प्रदर्शन शान्तिपूर्ण रूपमा मात्रै सीमित रहेन ।
नाराबाजीकै क्रममा आक्रोशित प्रदर्शनकारीहरूको समूहले जिल्ला प्रहरी कार्यालयको भित्री परिसरमा प्रवेश गर्न र कार्यालय घेराउ गर्न खोजेपछि सुरक्षा संवेदनशीलता बढेको थियो ।
प्रहरीले निषेधित क्षेत्र पार नगर्न चेतावनी दिएता पनि प्रदर्शनकारीहरू अगाडि बढ्न खोजेपछि अवस्था नियन्त्रण बाहिर जाने जोखिम बढेको थियो । शान्ति सुरक्षा कायम राख्न र सरकारी कार्यालयको सुरक्षाका लागि प्रहरीले बल प्रयोग गर्नुपरेको जनाएको छ ।
प्रहरीले प्रदर्शनकारीलाई तितरबितर पार्न लाठीचार्ज सुरु गरेपछि घटनास्थलमा भागाभाग मच्चिएको थियो । लाठीचार्जका क्रममा केही प्रदर्शनकारीलाई सामान्य चोटपटक लागेको बताइएको छ ।
झडपको स्थिति सिर्जना भएलगत्तै सदरमुकाम कलैयाको सुरक्षा व्यवस्था कडा पारिएको छ। बारा प्रहरीका अनुसार हाल सो क्षेत्रको अवस्था पूर्ण रूपमा नियन्त्रणमा आइसकेको छ र जनजीवन सामान्य बन्दै गएको छ ।




