रौतहट । रौतहटको परोहा नगरपालिका ६ बसन्तपट्टी चौकमा सोमबार दिउँसो भएको मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार कोप्वाबाट फतुवातर्फ जाँदै गरेको म प्र ०५–००१ प ०१८८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो ।
दुर्घटनामा परि गम्भीर घाइते भएका मोटरसाइकल चालक बारागढी गाउँपालिका ३ मुर्कीपालियाका २२ वर्षीय मुकेश मुखियाको उपचारका क्रममा मृत्यु भएको छ । अनुहार र टाउकोमा गम्भीर चोट लागेका मुखियालाई उपचारका लागि वीरगञ्जस्थित मेट्रो सिटी अस्पताल लगिएकोमा सोमबार अपराह्न करिब ३ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक (डीएसपी) विष्णु प्रदिप बस्यालका अनुसार सो दुर्घटनामा मोटरसाइकलमा सवार राजपुर नगरपालिका २ निवासी रामजी मुखियाका छोराहरू १० वर्षीय शिवजी मुखिया र ८ वर्षीय सुजित मुखिया घाइते भएका छन् । घाइते दुवै बालकको शरीरका विभिन्न भागमा चोट लागेको र उनीहरूको अवस्था मध्यम रहेको उनले जानकारी दिए ।
घाइतेहरूको पनि मेट्रो सिटी अस्पताल वीरगञ्जमै उपचार भइरहेको छ । घटना लगत्तै इलाका प्रहरी कार्यालय कोप्वापिपरियाबाट प्रहरी टोली घटनास्थल पुगेको थियो । दुर्घटनाग्रस्त मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।






