काठमाडौं । परराष्ट्र मन्त्रालयले इरानको कब्जामा रहेका नेपाली नागरिक अमृत झा रिहा भएको भन्दै यसअघि जारी गरिएको वक्तव्यप्रति माफी मागेको छ । मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै झा अझै इरानमै थुनामा रहेको स्पष्ट पारेको हो ।
मन्त्रालयका अनुसार अमृत झालाई जनवरी २०२६ को सुरुमा इरानको केश्म आइल्यान्डबाट अवैध सामान तस्करी तथा ओसारपसारको आरोपमा अन्य ६ विदेशी नागरिकसँगै इरानी सुरक्षाकर्मीहरूले नियन्त्रणमा लिएका थिए । हाल उनी बन्दर अब्बासमा पुर्पक्षका लागि थुनामा छन् ।
परराष्ट्रले १५ अप्रिल २०२६ मा इरानका लागि नेपाली अनररी कन्सल शाहराम शान्तियाइले कतारस्थित नेपाली कार्यवाहक राजदूत कुमार राईलाई अमृत झा रिहा भएको अनौपचारिक जानकारी पठाएको र सोही सूचनाका आधारमा मन्त्रालयले झा रिहा भएको वक्तव्य आएको परराष्ट्रले विज्ञप्ति जारी गरेर भनेको छ । त्यसपछि परराष्ट्रमन्त्री शिशिर खनालले पनि सामाजिक सञ्जालमार्फत उक्त विषय सार्वजनिक गरेका थिए ।
तर, केही दिनपछि प्राप्त जानकारी अनुसार झा रिहा नभएको र अदालतले मुद्दासम्बन्धी ‘एक्सपर्ट रिपोर्ट’ तयार गर्न आदेश दिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार यस विषयमा झाका परिवारलाई पनि सबै तथ्य जानकारी गराइसकिएको छ ।
मन्त्रालयले झा रिहा भएको अनौपचारिक सूचना सार्वजनिक हुँदा उत्पन्न अन्योल र असुविधा प्रति क्षमा प्रार्थी रहेको जनाएको छ । हाल विज्ञ टोलीले ‘एक्सपर्ट रिपोर्ट’ तयार गरी अदालतमा बुझाउने प्रक्रियामा रहेको मन्त्रालयले जनाएको छ ।
इरानको स्थानीय अदालतमा विचाराधीन मुद्दाको फैसला त्यहीँको कानुनअनुसार हुने भएकाले उपलब्ध सबै कूटनीतिक माध्यम प्रयोग गरी झाको निष्पक्ष सुनुवाइका लागि पहल भइरहेको मन्त्रालयको भनाइ छ ।






