रौतहट । रौतहटको चन्द्रपुर नगरपालिकाले विद्यालय तथा सरकारी कार्यालयमा लागू अतिरिक्त बिदा कटौती गर्ने निर्णय गरेको छ । नगरपालिकाले सूचना जारी गर्दै अब सामुदायिक तथा संस्थागत विद्यालयहरू नियमित रूपमा सञ्चालन गरिने जनाएको हो ।
नगर कार्यपालिकाको निर्णयअनुसार विद्यालयहरू आइतबारदेखि शुक्रबारसम्म पूर्ववत् सञ्चालन हुनेछन् । यसअघि दिइँदै आएको अतिरिक्त बिदा हटाएर शिक्षण गतिविधिलाई नियमित बनाउने उद्देश्यले यस्तो निर्णय गरिएको नगर प्रमुख संजयकुमार काफ्लेले बताएका छन् ।
नगरपालिकाद्वारा जारी सूचनाअनुसार नगरपालिका कार्यालय, मातहतका स्वास्थ्य संस्था, कृषि तथा पशु सेवा शाखा, वडा कार्यालय र अस्पतालहरू समेत नयाँ समय तालिका अनुसार सञ्चालन हुनेछन् ।
अब ती कार्यालयहरू आइतबारदेखि बिहीबारसम्म बिहान १० बजेदेखि साँझ ५ बजेसम्म तथा शुक्रबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म खुला रहने जनाइएको छ । नगर प्रमुख काफ्लेद्वारा हस्ताक्षरित सूचनामा यो व्यवस्था २०८३ साल जेठ १० गतेदेखि लागू हुने उल्लेख गरिएको छ ।
नगरपालिकाले अतिरिक्त बिदा कटौतीपछि शैक्षिक तथा प्रशासनिक सेवा प्रवाह थप प्रभावकारी हुने अपेक्षा गरेको छ । साथै, सेवाग्राहीलाई समयमै सेवा उपलब्ध गराउन पनि निर्णय सहयोगी हुने विश्वास गरिएको छ ।




