बारा । बाराको परवानीपुर गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष रामेश्वर प्रसाद साह कलवारले विकास निर्माणको काममा अनियमितता भएको भन्दै विरोध गर्ने र भिडिओ खिच्ने एक स्थानीय युवकमाथि कुटपिट गरेका छन् ।
वडा अध्यक्ष कलवारले बुधबार बिहान साढे ८ बजे स्थानीय युवक दिपु कुमार महतो (दास) माथि सार्वजनिक स्थलमै कुटपिट गरेका हुन् । मधेश प्रदेश सरकारको सशर्त अनुदान अन्तर्गत वडास्थित सिँचाईको नहरमा उपभोक्ता समिति मार्फत सडक ढलानको काम भइरहेको छ ।
उक्त निर्माण कार्य अत्यन्तै कमजोर गुणस्तरको भएको र गाउँको पानी निकासको कुनै विकल्प नराखी सडक बनाइएको भन्दै स्थानीय बासिन्दाहरूले केही समयदेखि विरोध जनाउँदै आएका थिए ।
भिडिओ खिचिरहेका बेला झापड
पीडित युवक दिपु कुमार महतोका अनुसार सडक ढलानको काम गुणस्तरहीन देखिएपछि उनले आफ्नो मोबाइलबाट भिडिओ बनाउन सुरु गरेका थिए । सोही क्रममा वडा अध्यक्ष कलवार एक्कासि आक्रोशमा आएर उनीमाथि जाइलागेका थिए ।
“म ढलान गरिरहेको ठाउँको भिडिओ खिचिरहेको थिए, वडा अध्यक्ष एक्कासि आवेसमा आएर ‘भिडिओ खिच्ने तिम्रो अधिकार के छ ?’ भन्दै गालीगलौज र कुटपिट गर्न थाले,” पीडित दिपुले भने ।
वडा अध्यक्ष कलवारले बायाँ कानमा कडा झापड हानेका कारण आफ्नो कान बन्द भएको र सुन्न छाडेको महतोले बताएका छन् । कुटपिट र अभद्र व्यवहार भएलगत्तै पीडित युवकले न्याय र सुरक्षाको माग गर्दै ईलाका प्रहरी कार्यालय प्रसौनीमा निवेदन दिएका छन् ।
उनले वडा अध्यक्ष रामेश्वर प्रसाद साह कलवार, उपभोक्ता समितिका अध्यक्ष राम पटेल र उनका दाइ धुनु पटेलविरुद्ध आवश्यक कानुनी कारबाहीका लागि प्रहरीमा लिखित उजुरी दर्ता गराएका हुन् ।
वडा अध्यक्षको प्रतिवाद
यता, कुटपिटको आरोप लागेका वडा अध्यक्ष रामेश्वर प्रसाद साह कलवारले भने आफूले सुरुमा भिडिओ नखिच्न आग्रह गरेको दाबी गरेका छन् । उनले दिपुले उल्टै आफूलाई धकेलेर लडाएपछि स्थिति बिग्रिएको भन्दै आफ्नो बचाउ गरे । “उसले नखिच भन्दाभन्दै भिडिओ गर्छ, ममाथि नै हात हाल्छ भने के म मुख हेरेर बस्ने ?” वडा अध्यक्ष कलवारले आक्रोश पोखे ।
यसैगरी, बजेटका विषयमा स्पष्ट पार्दै वडा अध्यक्ष कलवारले मधेश प्रदेश सरकारले सुरुमा ३० लाख रुपैयाँ बजेट दिने भने पनि पछि २४ लाख रुपैयाँ मात्र विनियोजन गरेको र सोही रकम अनुसार नै काम भइरहेको बताए ।
स्थानीय जनप्रनिधि नै विकास निर्माणको पारदर्शीता खोज्ने नागरिकमाथि भौतिक रूपमा जाइलागेपछि परवानीपुर क्षेत्रका स्थानीय बासिन्दाहरू आन्दोलित र आक्रोशित बनेका छन् । घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ ।




