काठमाडौं । बागलुङकि विन्दु बोहरा भर्खरै १२ कक्षा पढ्दै थिइन् । त्यसताका कलेज आउँदा–जाँदा एउटा युवकले उनलाई निकै पछ्याउने गर्थे, तर खासै याद गरिनन् उनले । मास्टर पास गर्ने सपना थियाे, पढाइमा अब्बल थिइन्, दायाँ–बायाँ लाग्ने कुरै भएन ।
बिहान कलेज जान्थिन्, दिउँसो पसलमा बसेर परिवारलाई सघाउँथिन् । त्यतिबेला मोबाइल सबैको हात-हातमा पुगिसकेको थिएन । उनको पसलमा फोन थियो । एकदिन पसलमा बसिरहेका बेला फोन बज्यो, अपरिचित युवकले सन्चो बिसन्चो सोधेर राखिदिए ।
मनमा खुलदुली मच्चिरह्याे तर ६ महिनासम्म ती युवकको फोन आएन, जसले उनलाई मन दिएको कुरा गरेका थिए । भ्यालेन्टाइन डे को दिन अचानक साथीकाे माेबाइलमा उनकाे लागि फाेन आयो, आवाज उही युवककाे थियाे । त्यसदिन उनीहरुबीच करिब चार घण्टा कुराकानी भयो । युवक प्रेमका लागि उनलाई मनाउन खोजिरहेका थिए, उनी मानिरहेकी थिइनन् ।
न्यु इयरमा साथीसँग कुस्मा गइन्, घुम्न । गाडीबाट उत्रिने बेला भाडा अरू कसैले तिरिदिए, घबराहट भयाे – ‘मलाई फोन गर्ने केटो यही हुनुपर्छ !’ तलदेखि माथिसम्म नियालिन् – चेक सर्टमा चुज पाइन्ट, खुट्टामा चप्पल अनि हातमा डायरी । आफूले सोचेभन्दा विल्कुल फरक गेटअपमा देखेपछि मनले भन्यो – ‘छ्या, यस्तो पो रहेछ !’
पहिलाे भेटपछि फाेनमा कुराकानी बाक्लियाे । दाेस्राे भेट युवकले काम गर्ने रेडियाे स्टेशनमा भयाे । उनले रेडियाेमा कार्यक्रम सञ्चालन गरेकाे लाइभ हेर्ने अवसर पाइन् विन्दुले । कार्यक्रम सञ्चालनका क्रममा ती युवककाे बाेल्ने शैली, हाउभाउबाट निकै प्रभावित भइन् ।
त्यतिबेला उनलाई लाग्याे – ‘यो केटाेले सुखले पाल्न नसके पनि मलाई हाँसीखुशी राख्न सक्छ !’
विन्दुलाई पछ्याउने, उनकाे मन चाेर्ने ती युवक थिए प्रकाश सपुत, अहिलेका लाेकप्रिय गायक ।
विन्दु भन्छिन् – ‘तीन वर्षसम्म साथीको रुपमा रहँदा मलाई प्रकाशको केयरिङ बानी र चञ्चलता निकै राम्रो लाग्थ्यो । इनोसेन्ट, बच्चाजस्तो हुनुहुन्थ्यो, रमाइलो गर्नुहुन्थ्यो । म उहाँकाे बाेली-वचनबाटै प्रभावित भएँ । विस्तारै उहाँप्रति झुकाव बढ्याे, माया लाग्न थाल्याे ।’

प्रकाशले भने देख्नेबित्तिकै मनमा सजाएका थिए बिन्दुलाई । बिन्दु १२ कक्षा पढ्दै गर्दा प्रकाश एक इन्सिच्युटमा बिहान कम्प्युटर सिक्ने र बेलुका सिकाउने गर्थे । उनीहरूकाे छुट्टीकाे समय एउटै थियाे । आउँदा-जाँदा उनले विन्दुलाई नियालिरहेका हुन्थे । विन्दुसँग प्रकाशको साथीको चिनजान थियो । विन्दुतिर आकर्षित भएका प्रकाशले साथीसँग उनको बारे पत्ता लगाएका थिए ।
प्रकाश र उनका साथी साँझपख बिन्दुकाे पसलमा दैनिकजसाे गइरहेका हुन्थे, उनलाई हेर्न र भेट्न । तर विन्दुले चिनेकी थिइनन् । आउने–जाने बाक्लै भएपछि उनले अनुमान त लगाइन् तर याे नै हाे भनेर एकिन भने गर्न सकिनन् ।
जातीय रूपमा विन्दु गैरदलित थिइन्, प्रकाश दलित । वर्गीय रूपमा उनी धनी थिइन्, प्रकाश गरिब । भेगीय रूपमा उनी शहरिया थिइन्, प्रकाश गाउँले । त्यसैले पनि सुरूका दिनमा विन्दुसँग नजिकिन हिच्किचाए प्रकाश । ‘बजारको भनेपछि खत्रै जस्तो लाग्थ्यो, किनकी हामी गाउँमा बस्थ्यौँ । त्यसैले डर पनि लागेको थियो भन्नलाई । मेराे एकतर्फी प्रेम भने जारी नै थियाे । बल्लबल्ल साथीसँग भनेर उनको पसलको फोन नम्बर पत्ता लगाएँ । त्यतिबेला मोबाइल थिएन । दुई तीन पटकसम्म गर्दा उनको आमाले फोन उठाउनु भयो । एक पटक उनले नै उठाइन् । थोरै बाेलियाे । त्यसपछि पाँच ५,६ महिनासम्म कुराकानी नै भएन,’ प्रकाशले भने ।
भ्यालेन्टाइन डे को दिनमा बिन्दुकाे साथीको मोबाइल नम्बर पत्ता लगाएर उनलाई फाेन गरेका थिए । प्रेमिल विगत सम्झिँदै प्रकाशले भने, ‘फोन गर्दैगर्दा उनीहरु अघिअघि थिए, म पछिपछि थिएँ । उनलाई फाेन गर्ने केटा म नै हुँ भन्ने थाहा थिएन । मैले फोनमा नै कन्भेन्स गराएको थिएँ, माया, प्रेम, आफू र परिवारबारे । तिमीलाई मन पराउँछु भनेर प्रेम प्रस्ताव राखेको थिएँ ।’

पछि उनीहरू यति नजिक भए कि बिहे अघिसम्म एकअर्कालाई तँ भन्थे, तीन वर्ष एक अर्कालाई चिने । ‘पहिले त मेराे एकतर्फी प्रेम थियाे । पछि रेडियाेमा पनि भेट हुन थालेपछि बल्ल उनले मलाई मन पराउन थालिन्, जीवनसाथीको रुपमा हेर्न थालिन् । केयरिङ गर्न थालेजस्तो महसुस भएको थियो । पहिले साथी बन्यौँ, त्यसपछि बेस्ट फ्रेण्ड अनि जीवनसाथी !’
प्रकाश र बिन्दुको बिवाह पनि रोचक र रमाइलो तरिकाले भयो । उनीहरुको जीवनको रथ हाँक्न आमाहरुले साथ दिए, बाबाहरु भने अज्ञात थिए उनीहरुको प्रेम र बिवाहबारे । विन्दुलाई आमाले नै लुगाफाटो प्याक गर्न सघाएकि थिइन् । विन्दु भन्छिन् -‘आमा, भाइहरु मिलेर मेरो सामानहरु अघिल्लो दिन नै प्याक गरिदिनु भएको थियो । उहाँ (प्रकाश) लिन आउने दिनमा पनि हामी सबैजना तयारी अवस्थामा नै थियौँ । आमा अलि परसम्म छोड्न समेत जानु भएको थियो, त्यसैले मलाई भागेजस्तो अनुभुति नै भएन त्यतिबेला । अलिक टाढा पुगेपछि बाबाले फोन गर्नुभयो, उहाँसँग फोनबाटै बिदा माग्ने बेलामा रुनुभयो । त्यसपछि चाहीँ निकै नरमाइलो अनुभुति भयो ।’
बिहानकाे करिब चार बजेतिर शहरकि बिन्दुलाई लिन गाउँले ठिटाे प्रकाश उनकाे घर छेउ पुगेका थिए । भगाएर भीरैभीर दिनभरी झरिमा रूझाउँदै हिँडाएर झमक्क साँझमा घर पुर्याएका थिए उनले । बिहेको लागि मन बाहेक अरु केहि मिलेको थिएन उनीहरूकाे । ‘माया हुनुपर्ने रहेछ, अरु त आफैँ मिल्दै जाने रहेछ’, प्रकाश बताउँछन् ।
बिवाह गर्ने समय प्रकाशसँग न नाम थियो न दाम । थियो त केवल थुप्रै सामाजिक प्रश्नहरु, पारिवारिक जिम्मेवारी, आफ्नै सपना र एक अर्काबीचको बेहद प्रेम । अहिले उनीहरुसँग सबथोक छ, गरिबीबाट माथि उठेर सम्पन्न जीवन जिइरहेका छन् ।

केहि वर्षअघि मात्रै प्रकाशले काठमाडौंमा घर बनाएका थिए । उनले सांगितिक कमाइबाटै काठमाडौंमा घर ठड्याएका हुन् । उनले आफ्नो सपनालाई जस्तोसुकै परिस्थितिमा पनि विचलित हुन दिएनन् । सधैँ समयको सदुपयोग गरे । संघर्षप्रति समर्पित भए । कामप्रति इमान्दार र आर्थिक अनुशासनमा बसे ।
अहिले प्रकाश र बिन्दुको एक छोरी छिन्, प्रविष्टि । बिन्दुले मास्टर समाप्त गरिसकेकि छिन्, जसका लागि प्रकाश प्रेरणा र सहयोगी बने । यस्तै प्रकाश पनि आफ्नो क्षेत्रमा स्थापित भइसकेका छन्, जसका लागि बिन्दु हौसला र आत्मबल बनिन् ।
हुन त उनीहरुको प्रेमको सुरुवात नै एक अर्काको सपनाको बहसबाट भएको थियो । एक अर्काको सपनाको कदर गर्ने र सपोर्ट गर्ने भन्ने औपचारिक कुराकानीबाट साथीको सम्बन्ध प्रेममा परिणत भएको थियो । प्रकाश भन्छन्, ‘सम्बन्ध प्रेम र विश्वासमा टिक्ने हाे । कलाकारको श्रीमती हुनलाई मनमा विश्वासको समुन्द्र हुनुपर्छ । त्यसमा कहिले कमि नहोस् ।’
कसैले नचिन्ने प्रकाश अहिले सर्वत्र चर्चामा छन् । कुनैबेला पत्रिकामा आफ्नोबारे केही लेखिएको नभेट्दा निराश भएका उनकाे अहिले प्रत्येक सिर्जनाको समिक्षा पत्रपत्रिकामा प्रकाशित हुने गर्छ । उनी ‘गलबन्दी’ र ‘बोल माया’ गीतबाट चर्चामा आएका थिए । त्यसपछि उनले पछाडि फर्केर हेर्नु परेको छैन । उनको जीवन निकै संघर्षपूर्ण रह्यो तर हार कहिल्यै मानेनन् । त्यसैले आज सफल छन् ।




