धनुषा । धनुषाको मिथिला नगरपालिका ९ स्थित बडहरी खोलाबाट भइरहेको ग्राभेल उत्खनन रोक्न माग गर्दै स्थानीयवासी आन्दोलित बनेका छन् । बिहिबार स्थानीयले मिथिला नगरपालिकाको कार्यालय ढल्केबर अगाडि टायर बालेर प्रदर्शन गर्दै केही समय पूर्व–पश्चिम राजमार्ग समेत अवरुद्ध गरेका थिए ।
उनीहरूले खोलामा भइरहेको जथाभावी उत्खनन तत्काल रोक्नुपर्ने माग राखेका छन् । आन्दोलनरत स्थानीयका अनुसार बडहरी खोलाबाट अनियन्त्रित रूपमा ग्राभेल निकालिँदा नदी आसपासका खेतीयोग्य जमिन भासिने जोखिम बढेको छ । साथै उत्खननपछि खोलामा ठूलो खाल्डा छोडिँदा बालबालिका डुब्ने खतरा समेत बढेको छ ।
आन्दोलनरत स्थानीयले उत्खननका कारण वातावरणीय असन्तुलनसँगै मानवीय जोखिम पनि बढ्दै गएपछि बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको बताएका छन् । मिथिला नगरपालिकाले नगर क्षेत्रभित्रका बडहरी, बसही, औरही, जलाधार र रातु खोलाबाट ग्राभेल उत्खननका लागि काठमाडौंस्थित नेरिसा कन्ट्रक्सन कम्पनी प्रालिलाई ३ करोड ५ लाख ६२ हजार २७३ रुपैयाँमा ठेक्का दिएको थियो ।
स्थानीयले ठेक्का सम्झौता रद्द नगरेसम्म कुनै पनि ट्याक्टरलाई ग्राभेल लैजान नदिने चेतावनी दिएका छन् । स्थानीयले माग पूरा नभएसम्म आन्दोलन थप सशक्त बनाइने चेतावनी समेत दिएका छन् । यता मिथिला नगरपालिकाका प्रवक्ता रामबहादुर स्याङ्दनले स्थानीयको माग प्रति नगरपालिकाले ध्यान दिएको बताउँदै आवश्यक प्रक्रिया पूरा गरी ठेक्का रद्द गर्ने विषयमा छलफल भइरहेको जानकारी दिए ।




