काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा रामेछाप नगरपालिका ८ घर भएका ३३ वर्षीय रमेश कुमार विश्वकर्मा, काठमाडौं महानगरपालिका १० बस्ने गोरखा घर भएका ३५ वर्षीय चन्द्र बहादुर गुरूङ, काठमाडौं महानगरपालिका २६ बस्ने गोरखा घर भएका ३० वर्षीय दिपेश गुरूङ रहेका छन् ।
यस्तै गोरखा घर भएका २४ वर्षीय सौगात गुरूङ, ललितपुर गोदावरी नगरपालिका २२ बस्ने पाँचथर घर भएका ४८ वर्षीय सुर्य प्रकाश खेजुम र भक्तपुर सूर्यविनायक नगरपालिका ३ बस्ने काभ्रे घर भएका ३३ वर्षीया शान्ती श्रेष्ठ रहेका छन् ।
पक्राउ मध्ये रमेशले अमेरिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख २५ हजार रूपैयाँ, चन्द्र बहादुरले टर्की पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट २ लाख ९५ हजार रूपैयाँ, दिपेश र सौगातले टर्की पठाइदिन्छु भन्दै ८ जना पीडितहरूबाट ८६ लाख २२ हजार ५ सय ७० रूपैयाँ ठगी गरेको आरोप छ ।
यस्तै सुर्य प्रकाशले साइप्रस पठाइदिन्छु भन्दै १ जना पीडितबाट ९ लाख ५० हजार रूपैयाँ र शान्तीले लिथुआनिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख ९३ हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
रमेशलाई कास्कीबाट, चन्द्र बहादुरलाई काठमाडौं महानगरपालिका १० बाट र शान्तीलाई काठमाडौं महानगरपालिका ३० बाट बुधबार तथा दिपेश र सौगातलाई काठमाडौं महानगरपालिका २६ बाट र सुर्यलाई ललितपुर गोदावरी नगरपालिका २२ बाट मंगलबार पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।






