पश्चिम नवलपरासी । सशस्त्र प्रहरी बलले पश्चिम नवलपरासीबाट १४ लाख रुपैयाँभन्दा बढी मूल्यको अवैध खरबुजाको बियाँ बरामद गरेको छ । विशेष सूचनाका आधारमा खटिएको सशस्त्र प्रहरीको संयुक्त टोलीले बिहीबार बिहान प्रतापपुर गाउँपालिका ५ मटरा स्थित एक खाली टहराबाट ठूलो परिमाणमा खरबुजाको बियाँ बरामद गरेको हो ।
सशस्त्र प्रहरी बल नं. २६ गण मुख्यालय पश्चिम नवलपरासीका अनुसार बाबुराम पालको खाली टहरामा अवैध रूपमा सामान लुकाएर राखिएको सूचना प्राप्त भएपछि सशस्त्र प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश शर्माको नेतृत्वमा टोली परिचालन गरिएको थियो ।
टोलीमा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट (बीओपी) गुठीप्रसौनीका सशस्त्र प्रहरी निरीक्षक बद्रीनाथ देवकोटासहितको संयुक्त टोली सहभागी थियो । प्रहरीले टहरामा खानतलासी गर्दा ११८ बोरामा राखिएको कुल ४ हजार ७ सय २० केजी खरबुजाको बियाँ फेला पारेको जनाएको छ ।
बरामद गरिएको बियाँको अनुमानित बजार मूल्य १४ लाख १६ हजार रुपैयाँ रहेको बताइएको छ । बरामद सामान आवश्यक कानुनी प्रक्रिया तथा कारबाहीका लागि महेशपुर भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।






