वीरगंज । वीरगंज महानगरलाई सुन्दर, व्यवस्थित र अन्तर्राष्ट्रिय पहिचान दिने लक्ष्यसहित सुरु गरिएको सडक विस्तार अभियान अहिले स्थानीयका लागि सहजताको सट्टा कठिनाइको कारण बनेको छ ।
गण्डकदेखि घण्टाघरसम्मको मुख्य सडक क्षेत्र अतिक्रमण हटाउने कार्य तीव्र गतिमा अघि बढेपनि त्यसपछि देखिएको अव्यवस्थित अवस्था र फोहर व्यवस्थापनको कमजोरीले शहर अस्तव्यस्त बनेको छ ।
सडक विस्तारका क्रममा कतिपय घरधनीहरूले आफ्नै पहलमा संरचना भत्काइरहेका छन् भने केही स्थानमा आधा भत्किएका भवन तथा सटरहरू अलपत्र अवस्थामा छन् । भत्काइएका संरचनाका इँटा, बालुवा र निर्माण सामाग्री सडक किनारमै थुपारिँदा आवागमनमा मात्र होइन, शहरको सौन्दर्यमा समेत नकारात्मक असर परेको छ ।
विशेष गरी घण्टाघरदेखि मितेरी पुलसम्मको क्षेत्र धूलो र अव्यवस्थाले बढी प्रभावित बनेको स्थानीयवासीको गुनासो छ । हावा चल्दा उड्ने धूलोले पैदलयात्री, व्यवसायी र सवारी चालक सबैलाई प्रभावित बनाएको छ ।
स्थानीयका अनुसार दैनिक जीवन नै कठिन बन्दै गएको छ भने सडक छेउमा राखिएका निर्माण सामाग्री र खाल्डाखुल्डीका कारण दुर्घटनाको जोखिम पनि बढेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय, पर्साले समेत धूलो, साँघुरा मार्ग र जथाभावी सामग्रीका कारण सवारी सञ्चालन चुनौतीपूर्ण बनेको जनाएको छ ।
यसअघि सडक डिभिजन कार्यालय, हेटौंडाले सडकको दायाँ–बायाँ २५–२५ मिटर क्षेत्र खाली गराउने अभियान सुरु गरेको थियो । सोही योजनाअन्तर्गत अहिले संरचना हटाउने काम जारी रहेको छ । महानगर क्षेत्रको मुख्य सडक फराकिलो बनाउने दीर्घकालीन योजना भए पनि तत्कालीन व्यवस्थापन कमजोर हुँदा नागरिकले असुविधा भोग्नुपरेको देखिन्छ ।
स्थानीय व्यवसायीहरूले सडक विस्तार आवश्यक भए पनि भत्काइएका संरचनाको फोहर तत्काल हटाउने, नियमित रूपमा पानी छर्कने र वैकल्पिक ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउनुपर्ने माग गरेका छन् ।
उनीहरूका अनुसार वर्तमान अवस्था सुधार नभए व्यापारिक गतिविधि समेत प्रभावित हुने जोखिम छ । एक व्यवसायीले भने, “सडक विस्तार राम्रो योजना हो, तर अहिलेको अवस्था हेर्दा शहर विकास होइन, युद्धग्रस्त क्षेत्रजस्तो देखिन्छ ।”
वीरगंज महानगरपालिका तथा सम्बन्धित निकायले भने शहरलाई दीर्घकालीन रूपमा व्यवस्थित र आधुनिक बनाउने उद्देश्यसहित काम भइरहेको दाबी गरेका छन् । तर निर्माण कार्य र दैनिक व्यवस्थापनबीच प्रभावकारी समन्वय नहुँदा समस्या झनै गहिरिँदै गएको स्पष्ट देखिन्छ ।




