रौतहट । रौतहटको चन्द्रपुर क्षेत्रमा यतिबेला विकास निर्माणको नाममा नदीजन्य पदार्थको तीव्र उत्खनन भइरहेको भन्दै स्थानीयवासीले गम्भीर चिन्ता व्यक्त गरेका छन् । विशेष गरी वडा नम्बर ३ र ४ अन्तर्गत पर्ने चाँदी नदी क्षेत्रमा मापदण्ड विपरीत व्यापक रूपमा ढुंगा, गिटी, बालुवा र रोडा उत्खनन भइरहेको आरोप उठेको हो ।
स्थानीयका अनुसार अवैध रूपमा हेभी मेशिन प्रयोग गरी नदी दोहन तीव्र पारिएको भएपनि सम्बन्धित निकाय भने मौन देखिएका छन् । स्थानीयवासीका अनुसार टेकान क्षेत्रको मूल सडक प्रयोग गर्दै दैनिक सयौं ओभरलोड टिपर गाउँको बीचबाट आवतजावत गरिरहेका छन् ।
अत्यधिक भार बोकेका ती सवारीका कारण ग्रामीण सडक जीर्ण बन्दै गएको छ भने बाटोभरि धुलो उड्ने, पानी चुहिने र तीव्र गतिमा टिपर गुड्ने समस्याले स्थानीय बासिन्दा त्रसित बनेका छन् । बालबालिका, वृद्धवृद्धा तथा सर्वसाधारणलाई दुर्घटनाको उच्च जोखिम बढेको गुनासो स्थानीयको छ ।
नगरपालिकाले नदीजन्य पदार्थ उत्खननका लागि ठेक्का प्रक्रिया अघि बढाएको भएपनि व्यवहारमा भने मापदण्डको खुला उल्लंघन भइरहेको आरोप लगाइएको छ । २०८२ चैत ८ गते भएको सम्झौताअनुसार २०८३ जेठ मसान्तसम्म उत्खनन गर्न अनुमति दिइएको थियो ।
ठेक्का सम्झौतामा सीमित परिमाणमा मात्र उत्खनन गर्न पाउने व्यवस्था भएपनि तोकिएको परिमाणभन्दा धेरै सामाग्री निकालिएको स्थानीयको दाबी छ । अहिले पनि दैनिक ठूलो परिमाणमा ग्राभेल उत्खनन र ढुवानी भइरहेको उनीहरू बताउँछन् ।
गैडाटार जाने सडक आसपास र पुल क्षेत्रको दुवैतर्फ अत्यधिक उत्खनन भइरहेको भएपनि सम्बन्धित निकायले स्थलगत अनुगमन नगरेको भन्दै स्थानीय आक्रोशित छन् । नगरपालिकादेखि डिभिजन वन कार्यालयसम्म कुनै प्रभावकारी निगरानी नभएको आरोप उनीहरूको छ । स्थानीयका अनुसार दिनहुँ ओभरलोड टिपर सञ्चालन भइरहे पनि नियन्त्रण गर्ने निकाय निष्क्रिय देखिएको छ ।
स्थानीय स्तरमै केही प्रभावशाली समूह तथा जनप्रतिनिधिको समेत ठेक्का प्रक्रियामा अप्रत्यक्ष संलग्नता रहेको आशंका व्यक्त गरिएको छ । त्यसकै कारण अवैध उत्खनन रोक्न आवश्यक चासो नदिइएको आरोपसमेत उठ्न थालेको छ । यद्यपि यस विषयमा सम्बन्धित निकायबाट औपचारिक प्रतिक्रिया भने सार्वजनिक भएको छैन ।
वातावरणविद् तथा सरोकारवालाहरूले अनियन्त्रित नदी दोहनले दीर्घकालीन वातावरणीय संकट निम्त्याउन सक्ने चेतावनी दिएका छन् । अत्यधिक उत्खननका कारण चाँदी नदीको प्राकृतिक धार परिवर्तन हुन सक्ने, बाढीको जोखिम बढ्न सक्ने तथा आसपासका बस्ती जोखिममा पर्न सक्ने चिन्ता व्यक्त गरिएको छ ।
करोडौं लागतमा निर्माण गरिएको टेकान बसपार्कसमेत जोखिममा पर्न सक्ने स्थानीयको भनाइ छ । चाँदी नदी मात्र होइन, रौतहटका अन्य नदी क्षेत्रमा पनि यस्तै अवस्था देखिन थालेको स्थानीयको आरोप छ ।
विकास निर्माणको आडमा नदीजन्य पदार्थको अनियन्त्रित दोहन भइरहँदा विभिन्न स्थानमा अवैध रूपमा क्रसर उद्योग सञ्चालन तथा सामाग्री भण्डारण भइरहेको बताइएको छ । बाटोको क्षमताभन्दा बढी भार बोकेर तीव्र गतिमा गुड्ने टिपरका कारण स्थानीय जीवन असुरक्षित बन्दै गएको छ ।
टेकान, गैडाटारलगायत क्षेत्रका बासिन्दाले तत्काल स्थलगत अनुगमन, मापदण्डको कडाइका साथ कार्यान्वयन तथा अवैध उत्खनन नियन्त्रण गर्न सम्बन्धित निकायसँग माग गरेका छन् । उनीहरूले समयमै नियन्त्रण नगरे नदी दोहन र ‘टिपर आतंक’ले भयावह रूप लिन सक्ने चेतावनी दिएका छन् ।




