सर्लाही । सर्लाही, रौतहट, सिन्धुली र मकवानपुर जिल्लाको सीमाक्षेत्रमा पर्ने बागमती नदीमा डुबेर दुई युवक बेपत्ता भएका छन् । शनिबार अपराह्नदेखि बेपत्ता भएका उनीहरूको आइतबार बिहानसम्म पनि अवस्था अज्ञात रहेको प्रहरीले जनाएको छ ।
बेपत्ता हुनेमा सर्लाहीको लालबन्दी नगरपालिका ५ निवासी २१ वर्षीय गणेश महतो र लालबन्दी नगरपालिका ९ का १८ वर्षीय रोहित महतो रहेका छन् । उनीहरू मकवानपुरतर्फको पुल क्षेत्र हुँदै सिन्धुलीको बाटोबाट सर्लाही फर्किने क्रममा बागमती नदी तर्ने बेला डुबेका हुन् ।
प्रहरीका अनुसार पाँच जना युवक नदी पार गर्ने क्रममा तीन जना भने पौडी खेलेर रौतहटको नुनथरतर्फ निस्किन सफल भएका थिए । तर गणेश र रोहित नदीमा बेपत्ता भएका हुन् ।
स्थानीयवासीका अनुसार बागमती नदीको उक्त क्षेत्रमा हरेक वर्ष नुहाउने र पौडी खेल्ने क्रममा दुर्घटना हुने गरेको छ । जोखिमपूर्ण क्षेत्र भएपनि प्रभावकारी सुरक्षा व्यवस्था नहुँदा यस्ता घटना दोहोरिने गरेका छन् ।
बेपत्ता युवकका परिवारजनले खोजी कार्यमा स्थानीय प्रशासनबीच समन्वय अभाव भएको आरोप लगाएका छन् । उनीहरुले तत्काल गोताखोरसहितको टोली परिचालन हुनुपर्नेमा सम्बन्धित निकायले एकअर्कालाई जिम्मेवारी पन्छाउने काम गरिरहेको गुनासो गरेका छन् ।




