रौतहट । चन्द्रपुर नगरपालिकाले साविककै व्यवस्था कायम राख्दै आइतबार पनि विद्यालय सञ्चालन गर्ने निर्णय गरेपछि स्थानीय शिक्षकहरूले त्यस प्रति असन्तुष्टि जनाउँदै नगरपालिकामा ज्ञापनपत्र बुझाएका छन् ।
संघीय सरकारको निर्णय र स्थानीय तहको निर्देशन आपसमा बाझिँदा शैक्षिक क्षेत्रमा अन्योल सिर्जना भएको भन्दै सुबलाल भागवत माध्यमिक विद्यालयका शिक्षकहरूले नगर कार्यपालिकाको कार्यालयमा ज्ञापनपत्र पेश गरेका हुन् ।
संघीय सरकारको मन्त्रीस्तरीय निर्णयअनुसार शैक्षिक सत्र २०८३ देखि देशभरका सामुदायिक तथा संस्थागत विद्यालयमा हप्तामा दुई दिन शनिबार र आइतबार सार्वजनिक बिदा दिने व्यवस्था गरिएको छ ।
उक्त निर्णय कार्यान्वयनका लागि शिक्षा तथा मानव स्रोत विकास केन्द्रले समेत सम्बन्धित निकायहरूलाई परिपत्र गरिसकेको छ । तर चन्द्रपुर नगरपालिकाले गत जेठ ४ गते सूचना जारी गर्दै पुरानै व्यवस्था कायम राखी आइतबार पनि विद्यालय सञ्चालन गर्न निर्देशन दिएको थियो । नगरपालिकाको यही निर्णय प्रति शिक्षकहरूले आपत्ति जनाएका हुन् ।
शिक्षकहरूको भनाइमा संघीय सरकारको निर्णयविपरीत स्थानीय तहबाट फरक व्यवस्था लागू गर्दा विद्यालय प्रशासन, शिक्षक, विद्यार्थी तथा अभिभावकबीच अन्योल र असहज अवस्था उत्पन्न भएको छ । उनीहरूले शैक्षिक नीतिमा एकरूपता कायम गर्न तथा संघीय सरकारको निर्णय कार्यान्वयन गर्न नगरपालिकासँग माग गरेका छन् ।
ज्ञापनपत्रमार्फत शिक्षकहरूले शिक्षण सिकाइको वातावरणलाई व्यवस्थित र प्रभावकारी बनाउन स्पष्ट तथा एकीकृत नीति आवश्यक रहेको उल्लेख गरेका छन् । साथै विद्यार्थी र शिक्षकको हितलाई केन्द्रमा राखेर निर्णय लिन नगरपालिकालाई आग्रह गरिएको छ ।




