काठमाडौं । आगामी सात दिनसम्म दक्षिण एसियाभर तीव्र गर्मी कायम रहने अनुमान गरिएको छ । मौसमविद्हरूका अनुसार यस अवधिमा उच्च तापक्रम र तातो हावाको लहर (लू) चल्ने सम्भावना रहेकाले जनजीवनमा उल्लेखनीय असर पर्न सक्छ ।
यसको प्रत्यक्ष प्रभाव नेपालका तराई–मधेश क्षेत्रमा समेत पर्ने भएकाले अत्यधिक गर्मीका कारण दैनिक जीवन प्रभावित हुने देखिएको छ । विशेष गरी तराईका जिल्लाहरूमा तापक्रम ३८ देखि ४१ डिग्री सेल्सियससम्म पुग्न सक्ने अनुमान गरिएको छ ।
मौसमविद्हरूले तातो हावाको जोखिम बढ्ने भएकाले बालबालिका, ज्येष्ठ नागरिक तथा दीर्घरोगीहरूलाई विशेष सावधानी अपनाउन आग्रह गरेका छन् । दिउँसोको समयमा अनावश्यक रूपमा बाहिर ननिस्कन, पर्याप्त पानी पिउन र हल्का सूती कपडाको प्रयोग गर्न सुझाव दिइएको छ ।
विशेषज्ञहरूका अनुसार लामो समयसम्म प्रत्यक्ष घाममा बस्दा शरीरमा डिहाइड्रेसन, लू लाग्ने तथा अन्य स्वास्थ्य समस्या देखिन सक्ने भएकाले सचेत रहन आवश्यक छ ।
पछिल्ला केही दिनदेखि तराई–मधेश क्षेत्रमा लगातार बढ्दो तापक्रमले दैनिक जनजीवन, बजार, यातायात तथा श्रम क्षेत्रमा समेत असर पार्न थालेको छ । स्वास्थ्यकर्मीहरूले पनि गर्मीजन्य रोगबाट बच्न सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेका छन् ।




