जनकपुरधाम । मधेश प्रदेशमा विगत चार महिनादेखि एन्टिरेबिज भ्याक्सिन (एआरभी) अभाव हुँदा कुकुर तथा अन्य जनावरको टोकाइबाट प्रभावित विरामी समस्यामा परेका छन् । सरकारी अस्पतालमा निःशुल्क उपलब्ध हुने खोप नपाएपछि सर्वसाधारण निजी मेडिकल तथा स्वास्थ्य संस्थाबाट महँगो मूल्यमा खरिद गरेर लगाउन बाध्य भएका हुन् ।
प्रदेशका ४४ वटा सरकारी अस्पताल तथा स्वास्थ्य संस्थामा नियमित रूपमा एन्टिरेबिज खोप उपलब्ध गराइँदै आएको भएपनि गएको फागुन महिनादेखि खोप आपूर्ति पूर्ण रूपमा ठप्प भएको स्वास्थ्यकर्मीहरू बताउँछन् ।
नगर अस्पताल लालबन्दीका मेडिकल सुपरिन्टेन्डेन्ट डा. चन्दन चौधरीले एन्टिरेबिज खोपको अभाव पुरानै समस्या भएपनि पछिल्लो समय अवस्था झन् जटिल बनेको बताए । उनका अनुसार प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रबाट अस्पताललाई मासिक १२० भाइल खोपको कोटा तोकिए पनि पर्याप्त मात्रामा आपूर्ति हुन सकेको छैन । आएको सीमित खोप पनि केही दिनमै सकिने गरेको उनले जानकारी दिए ।
डा. चौधरीले खोप उपलब्ध गराइदिन स्वास्थ्य मन्त्रालय तथा सम्बन्धित निकायमा पटक पटक पत्राचार गरेपनि हालसम्म आपूर्ति हुन नसकेको बताए । यस्तै, प्रादेशिक अस्पताल मलङ्गवाका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा. रामप्रकाश साहले प्रदेशमै खोप अभाव हुँदा विरामीको गुनासो बढ्दै गएको बताए ।
उनले खोप नहुँदा विरामीले अस्पताल प्रशासन प्रति नै आक्रोश व्यक्त गर्ने गरेको उल्लेख गरे । स्वास्थ्य अधिकारीहरूका अनुसार मधेश प्रदेशका ४४ वटा स्वास्थ्य संस्थाका लागि मासिक करिब सात हजार पाँच सय भाइल एन्टिरेबिज खोप आवश्यक पर्ने भएपनि सङ्घीय सरकारबाट आवश्यकता अनुसार आपूर्ति हुन सकेको छैन ।
कहिले दुई हजार, कहिले दुई हजार पाँच सय र कहिले काहीँ पाँच हजार भाइल मात्र पठाइने भएकाले निरन्तर अभाव हुने गरेको छ । प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र जनकपुरका निमित्त निर्देशक डा. नागेन्द्रप्रसाद यादवका अनुसार चालु आर्थिक वर्षमा प्रदेश सरकारले छुट्याएको बजेटबाट खरिद गरिएको ७५९ भाइल खोप पनि केही दिनमै सकिएको छ ।
उनले सङ्घीय स्तरमै आपूर्ति समस्या रहेकाले मधेश प्रदेशभर खोप अभाव भएको बताए । उनका अनुसार आपूर्तिकर्ताबाट नै समयमा खोप उपलब्ध नहुँदा समस्या झन् बढेको हो ।






