जनकपुरधाम । मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचाररत एक सुत्केरी महिलाको मृत्यु भएपछि घटनाको छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्ने निर्णय गरिएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री जङ्गी लाल रायको अध्यक्षतामा शनिबार बसेको बैठकले घटनाको सात दिनभित्र प्रतिवेदन बुझाउने गरी छानबिन समिति गठन गर्ने निर्णय गरेको हो । यद्यपि निर्णय भएको दुई दिन बितिसक्दा पनि समितिले पूर्णता पाउन सकेको छैन ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका जनस्वास्थ्य तथा नीति तर्जुमा महाशाखा प्रमुख डा. विपिनकुमार झाले समितिको संयोजकमा डा. इन्द्रजित रजकलाई जिम्मेवारी दिइएको जानकारी दिँदै अन्य सदस्यको टुङ्गो लगाउने प्रक्रिया जारी रहेको बताए ।
उक्त अस्पतालमा उपचारका क्रममा धनुषाको जनकपुरधाम उपमहानगरपालिका १२ निवासी २६ वर्षीया अन्जिना यादवको मृत्यु भएको थियो । मृत्युपछि परिवारजनले चिकित्सकको लापर्बाहीका कारण घटना भएको आरोप लगाउँदै आन्दोलन समेत गरेका थिए ।
मृतकका पति राधेश्याम यादवले शल्यक्रियामा संलग्न चिकित्सक डा. धीरेन्द्रकुमार साह र डा. श्रेया लक्ष्मी साहको कमजोरीका कारण आफ्नी श्रीमतीको ज्यान गएको दाबी गरे । उनका अनुसार जेठ ४ गते बिहान प्रसव पीडा भएपछि अन्जिनालाई अस्पताल भर्ना गरिएको थियो । प्रारम्भिक परीक्षणमा सामान्य सुत्केरी हुने भनिए पनि पछि आकस्मिक शल्यक्रिया गर्नुपर्ने अवस्था आएको थियो ।
शल्यक्रियामार्फत बच्चाको जन्म गराइएपछि अत्यधिक रक्तस्राव सुरु भएको र त्यसपछि पाठेघर निकाल्नु पर्ने अवस्था आएको परिवारको भनाइ छ । अन्जिनाको मृत्यु भएपछि परिवारजनले अस्पताल प्रशासनविरुद्ध प्रदर्शन गर्दै निष्पक्ष छानबिन, दोषीमाथि कारबाही र शल्यक्रियामा संलग्न चिकित्सकलाई निलम्बन गर्न माग गरेका थिए ।
त्यसपछि अस्पताल प्रशासन र पीडित पक्षबीच भएको छलफलमा छानबिन समिति गठन गर्ने, अनुसन्धान नसकिँदासम्म संलग्न चिकित्सकलाई निलम्बन गर्ने तथा अस्पताल प्रशासनको भूमिकामाथि समेत छानबिन गर्ने सहमति भएको थियो । तर उक्त निर्णयको विरोध गर्दै चिकित्सकहरूले अस्पतालका सेवा प्रभावित पारेका थिए ।
उता प्रतिष्ठानका रेक्टर डा. रामनरेश पण्डितले भने बिरामीको अवस्था सुरुदेखि नै जटिल रहेको दाबी गरे । उनका अनुसार गर्भावस्थाभर नियमित स्वास्थ्य परीक्षण नगराएकाले समस्या पहिचान गर्न कठिन भएको थियो । शल्यक्रियापछि अत्यधिक रक्तस्राव भएपछि उपलब्ध सबै स्रोत र जनशक्ति परिचालन गरेर उपचार गरिए पनि बिरामीलाई बचाउन नसकिएको उनले बताए ।




