रौतहट । महेन्द्र राजमार्गअन्तर्गत रौतहटको चन्द्रनिगाहपुरमा आज यात्रुवाहक बसको ठक्करबाट मोटरसाइकल चालकको घटनास्थलै मृत्यु भएको छ ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ५ ख ७२४८ नम्बरको यात्रुबाहक बसले विपरित दिशाबाट आउँदै गरेको ना २५ प १०८० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक चन्द्रपुर नगरपालिका १ पौराइका २६ वर्षीय शेख गुलामको मृत्यु भएको हो ।
बस चालक मकवानपुरको गढी गाउँपालिका ३ का लक्ष्मीभक्त ओझा र ठक्कर दिने बसलाई इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले नियन्त्रणमा लिएको र शेखको शवलाई चन्द्रनिगाहपुर अस्पतालमा राखिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका ट्राफिक प्रहरी निरीक्षक राजेन्द्र थापामगरले जानकारी दिए ।






