रौतहट । रौतहटको दुर्गा भगवती गाउँपालिका १ गंगापिपरामा निर्माण गरिएको सडक वर्षा सुरु नहुँदै विवादमा परेको छ । स्थानीय तहले लाखौं रुपैयाँ खर्चेर बनाएको सडक सामान्य वर्षापछि नै जलमग्न बनेपछि स्थानीयवासीले निर्माण कार्यको गुणस्तरमाथि प्रश्न उठाएका छन् ।
गएराति परेको सामान्य वर्षापछि सडकभरि हिलो र फोहरयुक्त पानी जमेको थियो । पानी निकासको उचित व्यवस्था नहुँदा सडक नै सानो पोखरीजस्तो बनेको स्थानीयको भनाइ छ । सडकमा पानी जमेर आवतजावत प्रभावित भएपछि पैदलयात्रु तथा सवारी चालकहरूलाई समस्या भएको छ ।
स्थानीयवासीका अनुसार सडक निर्माण गर्दा प्राविधिक मापदण्ड पालना नगरिएकै कारण यस्तो अवस्था आएको हो । सडकभन्दा नाला अग्लो बनाइएकाले पानी सहज रूपमा बग्न नसकी सडकमै थुप्रिने गरेको उनीहरूको आरोप छ ।
एक स्थानीयले आक्रोश व्यक्त गर्दै भने, “विकासका नाममा बनाइएको सडकले सुविधा दिनुको सट्टा झन् सास्ती दिएको छ । पानी निकासको सही व्यवस्था नगरी हतारमा काम गरिएकाले वर्षा हुनासाथ सडक डुबानमा परेको हो ।”
स्थानीयले योजना निर्माणअघि आवश्यक अध्ययन तथा प्राविधिक मूल्यांकन नगरिएको आरोप समेत लगाएका छन् । वर्षा हुनेबित्तिकै सडक जलमग्न हुने समस्या दोहोरिन थालेपछि निर्माण कार्य प्रति जनविश्वास कमजोर बन्दै गएको उनीहरूको भनाइ छ ।
सडकमा जमेको फोहरयुक्त पानीका कारण दुर्गन्ध फैलिनुका साथै संक्रामक रोगको जोखिम समेत बढेको भन्दै स्थानीयवासी चिन्तित बनेका छन् । उनीहरूले दीर्घकालीन पानी निकासको व्यवस्था गर्न, निर्माण कार्यको छानबिन गर्न तथा जिम्मेवार पक्षलाई कारबाही गर्न गाउँपालिकासँग माग गरेका छन् ।
गंगापिपराका बासिन्दाले विकास योजनामा ठूलो रकम खर्च भए पनि प्रभावकारी अनुगमन र गुणस्तरीय कार्यान्वयन अभावका कारण जनताले सुविधाभन्दा बढी दुःख पाउनु परेको गुनासो गरेका छन् ।




