बारा । बाराको सिम्रौनगढ नगरपालिकामा बाली क्षतिपूर्तिको माग गर्दै किसानहरूले मंगलबार नगरपालिका कार्यालय घेराउ गर्दै प्रदर्शन गरेका छन् । प्रदर्शनकारी किसानहरूले नगरपालिकाको मुख्य गेटमा ताल्चा लगाएर धर्ना समेत दिएका छन् ।
गत वैशाख १४ गते राति आएको भीषण आँधी, वर्षा र असिनाका कारण सिम्रौनगढ क्षेत्रमा कृषि बालीमा ठूलो क्षति पुगेको थियो । उक्त प्राकृतिक विपद्बाट करिब ४०० जना कृषकको बाली पूर्णरूपमा नष्ट भएको किसानहरूको भनाइ छ ।
पीडित कृषकहरूले क्षतिपूर्तिका लागि नगरपालिकासँग पटक–पटक आग्रह गर्दै आएपनि कुनै ठोस राहत वितरण नभएको भन्दै आन्दोलनमा उत्रिनुपरेको बताएका छन् ।
किसानहरूका अनुसार नगरप्रमुख किशोरीप्रसाद कलवारले क्षतिपूर्तिका लागि मापदण्ड तयार गरी आवश्यक कागजात बुझाउन आग्रह गरेका थिए । सोही अनुसार सबै प्रक्रिया पूरा गरी कागजात बुझाए पनि नगरपालिकाले विभिन्न बहानामा राहत वितरणमा ढिलाइ गरेको उनीहरूको आरोप छ ।
मंगलबार सिम्रौनगढ नगरपालिका २ रानीवास बजारबाट सुरु भएको जुलुस अमृतगंज, जानकीनगर हुँदै सिम्रौनगढ बजार परिक्रमा गरी नगरपालिका कार्यालय पुगेको थियो ।
प्रदर्शनका क्रममा किसानहरूले नगरप्रमुख तथा वडाध्यक्षविरुद्ध नाराबाजी समेत गरेका थिए । सो क्रममा सुरक्षाकर्मी र प्रदर्शनकारीबीच धक्कामुक्की भएको बताइएको छ । त्यसपछि आक्रोशित प्रदर्शनकारीहरूले प्रशासनिक भवनको मुख्य गेटमा ताल्चा लगाएर धर्ना सुरु गरेका हुन् ।
धर्नामा सहभागी किसान सङ्घर्ष समितिका अध्यक्ष ध्रुवप्रसाद कुशवाहाले आवश्यक सबै कागजात बुझाइसक्दा पनि क्षतिपूर्ति वितरणमा ढिलाइ भएकाले आन्दोलन गर्न बाध्य भएको बताए । उनले माग पूरा नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिएका छन् ।
उता, नगरपालिका कार्यालयभित्र कार्यपालिका बैठक चलिरहेकै बेला नगरप्रमुख कलवार, उपप्रमुख नज्मु शेहर, जनप्रतिनिधि, कर्मचारी तथा केही सेवाग्राही भवनभित्रै रोकिएका थिए । नगरप्रमुख कलवारले भने क्षतिपूर्तिसम्बन्धी विषयमा छलफल भइरहेको बताएका छन् ।
सङ्घर्ष समितिका सचिव रामप्रवेश कुशवाहाका अनुसार प्रारम्भमा ३००, त्यसपछि २८० र अन्तिममा २६० जना कृषकका कागजात स्वीकृत भई नगरपालिकामा बुझाइएको छ । प्रतिकट्ठा पाँच हजार रुपैयाँका दरले राहत दिने सहमति भएको बताइएको छ ।
कागजात अपूर्ण भएका केही कृषक राहत सूचीबाट बाहिरिएका छन् भने विशेष गरी बटैयामा खेती गर्ने जोतहाहरू सबैभन्दा बढी प्रभावित भएका छन् । जग्गाधनीहरूले कागजात उपलब्ध नगराउँदा उनीहरू क्षतिपूर्तिबाट वञ्चित भएको किसानहरूको गुनासो छ । प्रदर्शनका क्रममा एक जना महिला नगर प्रहरी सविता कुमारी घाइते भएको पनि जनाइएको छ ।




