रौतहट । रौतहटको पश्चिमी क्षेत्रमा पर्ने लालबकैया नदीमा टेण्डर नै नभएको अवस्थामा पनि प्रहरी र केही जनप्रतिनिधिको मिलेमतोमा व्यापक रूपमा नदीजन्य पदार्थको अवैध उत्खनन भइरहेको आरोप सार्वजनिक भएको छ ।
गुजरा नगरपालिका र फतुवा विजयपुर नगरपालिका क्षेत्रका विभिन्न घाटबाट दैनिक सयौं ट्र्याक्टरले ढुंगा, गिटी र बालुवा उत्खनन तथा ढुवानी गरिरहेको स्थानीयको दाबी छ । दुवै स्थानीय तहले आर्थिक वर्ष २०८२/०८३ का लागि हालसम्म नदीको टेण्डर आह्वान गर्न सकेका छैनन् ।
फतुवा विजयपुर नगरपालिकाका तत्कालीन मेयर गोपाल राय यादव नदी ठेक्कासम्बन्धी भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट दोषी ठहर भएपछि पद गुमाएका थिए । त्यसपछि कार्यवाहक मेयर अम्बेया खातुनले पुन: टेण्डर प्रक्रिया अघि बढाउन सकेकी छैनन् ।
उता गुजरा नगरपालिकाका मेयर सन्तलाल चौधरीले प्रक्रिया झन्झटिलो भएको भन्दै पछिल्ला दुई वर्षदेखि नदीको टेण्डर आह्वान नगरेको स्थानीयको भनाइ छ । टेण्डर नभएपछि नदीजन्य पदार्थ उत्खनन पूर्ण रूपमा बन्द हुनुपर्ने कानुनी व्यवस्था भएपनि व्यवहारमा भने उल्टै अनियन्त्रित दोहन भइरहेको छ ।
स्थानीयका अनुसार गुजराको जंगलसहिया, सिमरी तथा फतुवा विजयपुरको राँगी, बोटावा लगायतका घाटमा बिहानैदेखि बेलुकासम्म ट्र्याक्टरमार्फत नदीजन्य पदार्थ उत्खनन र ढुवानी भइरहेको छ ।
समाचार स्रोतका अनुसार नदीबाट सामाग्री उठाउने एक ट्र्याक्टरले इलाका प्रहरी कार्यालय र सशस्त्र प्रहरी बेस क्याम्प विजयपुर लक्ष्मिनियामा मासिक चार हजार रुपैयाँ बुझाउने गरेका छन् । त्यसबाहेक प्रहरी चौकी, सशस्त्र प्रहरीको अस्थायी बेस हरिनगर पोखरभिन्डा र प्रहरी चौकी छेदीचोकमा मासिक दुई दुई हजार रुपैयाँ बुझाएर निर्बाध रूपमा ढुवानी हुने गरेको आरोप छ ।
स्थानीय समाजसेवी मैनुदिन अन्सारीका अनुसार “मासिक रकम बुझाएकै कारण प्रहरी कार्यालय अगाडिबाटै ट्र्याक्टर ओहोरदोहोर गर्दा पनि कुनै रोकतोक हुँदैन ।” उनले केही जनप्रतिनिधि स्वयंले आफ्नै ट्र्याक्टर र मजदुर उत्खननमा प्रयोग गरिरहेको तथा केहीले व्यापारीसँग रकम लिएर मौन समर्थन गरेको आरोप समेत लगाएका छन् ।
नदीजन्य पदार्थको अनुगमन तथा कारबाही गर्ने जिम्मेवारी जिल्ला समन्वय समितिको भएपनि सभापति राम अयोध्या प्रसाद यादवले कुनै चासो नदेखाएको स्थानीयको गुनासो छ ।
स्थानीयका अनुसार नियमनकारी निकायको बेवास्ता र सुरक्षा निकायको कथित मिलेमतोका कारण लालबकैया नदीका विभिन्न घाटबाट दैनिक सयौं ट्र्याक्टर नदीजन्य पदार्थ ढुवानी भइरहेको छ । तस्कर तथा व्यापारीहरूले विभिन्न स्थानमा ठूलो परिमाणमा गिटी, बालुवा र बोल्डरको अवैध स्टकसमेत गरेका छन् ।
यता रौतहटको गढीमाई नगरपालिका समनपुरस्थित बागमती पुल पनि अवैध उत्खनन र अत्यधिक भार बोकेका टिपरका कारण जोखिममा परेको भन्दै स्थानीयस्तरमा चिन्ता बढेको छ । बागमती नदी क्षेत्रमा मापदण्ड विपरीत उत्खनन, नदी किनारमै ठूलो परिमाणमा बालुवा–गिटी भण्डारण तथा पुलको क्षमताभन्दा बढी भार बोकेका सवारी सञ्चालन भइरहेको स्थानीयको आरोप छ ।
उनीहरूले पुलको तत्काल प्राविधिक परीक्षण, अवैध उत्खनन नियन्त्रण तथा दोषीमाथि कारबाहीको माग गरेका छन् । स्थानीयका अनुसार अत्यधिक भार बोकेका टिपरका कारण पुलमा क्षति पुग्नुका साथै सडक बिग्रिने र दुर्घटनाको जोखिम बढ्दै गएको छ ।
बागमती नदीको अनियन्त्रित दोहनले वातावरणीय सन्तुलन, खेतीपाती र जनजीवनमै असर पर्न थालेको भन्दै स्थानीयले तत्काल नियन्त्रणको माग गरेका छन् । रौतहटका सिडियो दिनेश सागर भुषाल न्युज कारखानासँग कुरा गर्दै नदीहरूको अनुगमन निरीक्षण गर्ने, कार्वाही गर्ने अधिकार जिल्ला समन्वय समितिको रहेको बताएका छन् ।
जिल्लाको पूर्विभेग बागमती, चाँदी, पश्चिम लालबकैया नदीमा अबैध उत्खनन तथा नदीजन्य पदार्थको ढुवानी बारे गुनासोहरु आईरहेको छ । त्यस बारे समन्वय समितिका सभापतिसँग छलफल भएको छ केही दिन भित्रै स्थलगत अनुगमन गर्ने कार्यक्रम रहेको सिडियो भुषालले जानकारी दिए ।
नेपाल प्रहरीका मधेश प्रदेश प्रमुख डिआईजी गोबिन्द थपलिया र सशस्त्र प्रहरीका डीआईजी कृष्ण ढकालले नदीजन्य पदार्थको अबैध उत्खनन र ढुवानी नियन्त्रण गर्न जिल्लाका एसपीलाई तत्काल निर्देशन दिएको र घटनाको छानबिन गरी दोषि ठहर हुने प्रहरीलाई कारवाहीको दायरामा ल्याउने बताएका छन् ।




